उर्लाबारी, फाल्गुनन्द जयन्तीको अवसरमा उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक आयोजित “बिराट मेडिकल कलेज टिचिङ हस्पिटल प्रथम मंगलबारे क्रस कन्ट्री रन २०८२ ” सम्पन्न भएको छ। शनिबार विहान सम्पन्न रनमा खुला पुरुषतर्फको उपाधि संखुवासभाका तेन्जीन सेर्पाले हात पारेका छन् । यस्तै ताप्लेजुङका रमेश तावाहाङ दोस्रो र पुकार लिम्बु तेस्रो भएका छन् । उनीहरुले क्रमश: १० हजार, ७ हजार ५ सय र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारेका छन् ।
त्यस्तैगरी खुला महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बु विजयी भएकी छिन् । साथै, खोटाङकी द्रिपा बस्नेत र जुलिन राई क्रमश द्वितीय र तृतिय भए । उनीहरुले क्रमश: १० हजार, ७ हजार ५ सय र ५ हजार नगदसहित मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर हात पारेका छन् ।
त्यस्तै, पुरुष भेट्रानतर्फ धरानका विजय राई विजयी भएका छन् । साथै सो विधातर्फ धरानका मंगल तामाङ र मिरिकका राजकुमार विष्ट क्रमश: दोस्रो र तेस्रो भएका छन् । उनीहरु क्रमश: ५ हजार, ३ हजार र २ हजार नगदसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भए ।
यसैगरी, महिला भेट्रानतर्फ भारतस्थित मिरिककी शान्ती राई गुरुङ विजयी भएकी छिन् ।साथै, धरानकी जमुना लिम्बू र मिरिककै अनुजा तामाङ क्रमश: दोस्रो र तेस्रो भएका छन् । उनीहरुलाई गिफ्ट ह्याम्पर सहित पुरुष भेट्रानकै सरह पुरकृत गरिएको थियो ।
यस्तै सुपर भेट्रान विधातर्फ मिरिकका कृष्ण तामाङ विजयी भएका छन् । साथै दार्जिलिङका प्रिमिस भुटिया दोस्रो र निलबहादुर गहतराज दोस्रो र तेस्रो भए । उनीहरु क्रमश: ५ हजार, ३हजार र २ हजार नगदसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भए ।
त्यस्तैगरी, यू-१५ पुरुष विधातर्फ सुनसरीका भरत कवीराज विजयी भए । यस्तै विवेक राई र सफल राईले क्रमश: दोस्रो र तेस्रो स्थान हात पारे । उनीहरु ५ हजार, ३ हजार र २ हजार नगदसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भए ।
साथै, यू-१५ महिला विधातर्फ भोजपुरकी जुही राई विजयी भईन् । त्यस्तै, उर्लाबारीकी पुजा महतरा दोस्रो र रुष्मा दर्जी तेस्रो भएका छन् । उनीहरुलाई गिफ्ट ह्याम्परसहित यू-१५ पुरुष सरह नै पुरस्कृत गरिएको थियो ।
सो कार्यक्रममा विभिन्न विधातर्फ टप १० सम्मका उत्कृष्ट खेलाडीहरुलाई सान्तवनास्वरुप नगद, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
उर्लाबारी वडा नम्बर ३ स्थित क्रस कन्ट्री क्लब र भेट्रान क्लब मंगलबारेको संयुक्त आयोजनामा सम्पन्न सो प्रतियोगितामा भारतको मिरिक ,सिलगुडी, सिक्किमसहित नेपालको सुनसरी, भोजपुर, उदयपुर, खोटाङ, चितवन, गुल्मी लगायतका जिल्लाबाट ४ सय २१ धावक–धाविकाहरुको सहभागिता रहेको थियो ।
आज विहान मंगलबारे चोकबाट सुरु भएको उक्त दौड केरखाली चोक – सिरुझार स्कुल – सुनझोडा माध्यमिक विद्यालय – शान्ति आधारभूत विद्यालय – प्रस्तावित सालबारी रंगशाला हुँदै महेन्द्र राजमार्गमार्गबाट पुनः मंगलबारे चोकसम्म पुगेर समापन भएको थियो।
जसमा खुलातर्फ दौडको कुल दुरी ११ किलोमिटरको रहेको थियो भने भेट्रान र यू-१५ तर्फ ५ ÷५किमी दुरी रहेको थियो।
रनमा सहभागी खेलाडीका लागि टी–सर्ट, खाजा, जुसपानीको व्यवस्था गरिएको थियो भने टाढाबाट आउने धावकका लागि खाद्यान्न र आवासको व्यवस्था समेत गरिएको थियो ।
सो दौडमा २४ जना पुरस्कार विजेता महिलाहरुलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो । साथै पुरस्कार विजेता सम्पुर्ण खेलाडीहरुलाई १ वर्षको लागि हस्पिटलको तर्फबाट नि:शुल्क ओ.पी.डी. सेवा प्रदान गरिएको छ । यस्तै, उनीहरुलाई उपचारको क्रममा बेड चार्जमा शत प्रतिशत छुट, ल्याब टेष्टमा ५० प्रतिशत, एक्स्रे यूईसजी, सिटी स्क्यान र एमआरआई सेवामा २५ प्रतिशत र औषधीमा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक क्लवका अध्यक्ष प्रभू राईले जानकारी दिए ।
विराटनगरस्थित उक्त टिचिङ हस्पिटल सो प्रतियोगिताको टाईटल स्पोन्सरको रुपमा रहेको थियो ।
उक्त रन आयोजना गर्नुको मूख्य उद्देश्य युवा वर्गमा स्वास्थ्य रहन प्रेरित गर्दै यसको महत्व र यसबाट समाजमा सकरात्मक सन्देश फैलाउने साथै खेलकुदप्रति उत्प्रेरणा जगाउने हो।
सो कार्यक्रममा होटल पार्टन प्रार्थना रिट्रिट, स्पोर्ट लज एण्ड बार रहेको थियो भने इन्टरनेट पार्टनर भाय नेट, उर्लाबारी रहेको थियो । यस्तै स्थानिय हस्पिटल पार्टनर अरनिको हस्पिटल प्रा.लि. र मिडिया पार्टनर सञ्चार क्लब नेपाल, उर्लाबारी रहेको थियो ।
उल्लेखित दुरी पार गर्ने सम्पुर्ण धावकहरुलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसैबीच सो अवसरमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदानमा २१ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ । रक्तदानमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलकै प्राविधिक तथा चिकित्सक टोलीको सहयोग रहेको थियो ।
कार्यक्रम संयोजक हेमन्त लावतीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा वडाध्यक्ष भिष्मराज बुढाथकी, युवा व्यवसायी सचिन शाक्य, आयोजक मंगलबारे भेट्रान क्लवका अध्यक्ष रावन सुवेदी, उर्लाबारी जेसीजका उपध्यक्ष मिलन पोख्रेललगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सहजीकरण पत्रकार घनश्याम भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय