उर्लाबारी । ‘पानीको पर्खाल’ कविता कृति लिएर कवि कृष्ण उदाशी देशको केन्द्रिय राजधानी काठमाडौं पुगे । गत शनिबार मात्रै काठमाडौंको सर्वनाम थिएटरमा उक्त कृति विधिवत रूपमा विमोचन भयो ।
अग्रज कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कवि श्रवण मुकारुङ, समीक्षक डा. अशोक थापा, कृतिका सर्जक कृष्ण उदाशी र उपन्यासकार जयराम तिम्सिनाले एकसाथ कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममा दुईजना समीक्षकले आफ्नो धारणा राखेका थिए । समीक्षक द्वय डा. अम्बिका अर्याल र डा. अशोक थापाले कृतिको गुणात्मक पक्ष निक्कै दर्बिलो रहेको उल्लेख गरे । डा. अम्बिका अर्यालले कविको शब्दहरूसँग खेल्ने कला सुन्दर भएको कुरा कृतिले स्पष्ट पारेको बताइन् तर सामान्य पाठकलाई कविताहरू बुझ्न सजिलो नहुने टिप्पणी पनि गरिन् । अर्का समीक्षक डा. अशोक थापाले सङ्ग्रहभित्रका कविताहरू शालीन र शक्तिशाली रहेको बताए । उनले थुप्रै कविताहरू मजदुरका लागि लेखिएको कुरा पनि उल्लेख गरे । तर कविताहरू मजदुरका लागि लेखिएका भए पनि मजदुरहरूले सजिलै नबुझ्ने रहेको कुरा बताए ।
कार्यकक्रममा प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ कवि, गीतकार श्रवण मुकारुङले बोल्नेले क्रममा कविलाई बधाई दिँदै भने, कविता भनेको सारहरूमा, कविताको दर्शनहरूमा बाँच्ने रहेछ मलाई आशा छ यी सम्पूर्ण तत्व यो कृति पानीको पर्खालभित्र छन् ।
विमोचन कार्यक्रममा आफ्नो कृतिको सन्दर्भलाई जोड्दै कृष्ण उदाशीले भने “काठमाडौले जहिल्यै हामीलाई मोफसलको ठान्छ । हामी होइनौँ भन्छौँ, ऊ हो भन्छ । यसकारण पनि यो पर्खाल भत्काउन म यहाँ यसरी उभिएको छु ।” किताबको सन्दर्भलाई जोड्दै उनले कृतिबाट ‘हिउँद र मेरा बा’ र ‘गाउँ र आमाहरू’ शीर्षकका दुईवटा मार्मिक कविताहरू वाचन गरेर उपस्थित अतिथि दर्शकलाई बडो भावुक बनाए ।
कार्यक्रम सञ्चालक महेश क्षितिजले सङ्ग्रहभित्रको ‘बाबुको गर्भ’ शीर्षकको कविता वाचन गर्दै सुरु गरेको कार्यक्रममा अरु तीन जना कविहरूले पनि कृतिभित्रका कविताहरू वाचन गरेका थिए । वाचन गर्नेहरूमा राधा कँडेलले ‘अनुभव’ महेश पौडेलले ‘ईश्वरको परमधाम’ र चन्द्रवीर तुम्बोपोले ‘बुद्धको अनावरण’ शीर्षकका कविता वाचन गरेका थिए ।
कार्यक्रममा गायक संगीतकार राजनराज शिवाकोटी, गायक संगीतकार गौरभ दर्पण, प्रा.डा. जनार्दन घिमिरे, उपन्यासकार श्याम सिङ्घक, कवि चन्द्रवीर तुम्बापो, कवि विशाल नाल्बो, कवि मिथोच, उपन्यासकार जयराम तिम्सिना, कुशलदेव घिमिरे नबराज थापा, योगमाया दाहाल, शरद अधिकारीलगायत पाँच दर्जनमाथि सर्जक तथा शुभचिन्तक उपस्थित भएका थिए ।
























