उर्लाबारी । इलामको चुलाचुली गाउँपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका र लेटाङ नगरपालिकालाई जोड्ने रणनीतिक महत्वको चुलाचुली–मिक्लाजुङ–लेटाङ सडक अन्तर्गत निर्माण हुने तेली खोला पुल निर्माण प्रक्रिया अघि बढेको छ । पुल निर्माणका लागि ठेक्का आह्वान भएसँगै स्थानीयवासीमा वर्षौंदेखिको सपना साकार हुने आशा जागेको छ ।
पुल अभावका कारण विशेषगरी वर्षायाममा स्थानीयले तेली खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सम्पन्न भएपछि सुरक्षित र सहज आवागमन सुनिश्चित हुनुका साथै तीन स्थानीय तहबीचको सडक सञ्जाल थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले पुल निर्माणका लागि ठेक्का आह्वान हुनु क्षेत्रका नागरिकका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँका अनुसार पुल बनेपछि दैनिक आवागमन सहज हुनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ । उपाध्यक्ष पौडेलले तेली खोला पुललाई क्षेत्रकै बहुप्रतीक्षित र गौरवको पूर्वाधार आयोजनाका रूपमा उल्लेख गर्दै यसले पहाडी र तराई क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
करिब २५ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने पुलका लागि २०८१ सालमै बहुवर्षीय योजनाअन्तर्गत स्रोत सुनिश्चित गरिएको थियो । उपाध्यक्ष पौडेलका अनुसार आयोजना अघि बढाउन तत्कालीन प्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिष्ट पार्टी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व संघीय सांसद घनश्याम खतिवडा र डीगबहादुर लिम्बूलगायतको महत्वपूर्ण भूमिका रहेको थियो । तेली खोला पुललाई पूर्वी पहाडी क्षेत्र र तराईलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । पुल निर्माण सम्पन्न भएपछि स्थानीय विकासले नयाँ गति लिने, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तथा क्षेत्रीय आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
























