पथरी । ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को फाइनलमा द रियल ब्रदर्श एफसी प्रवेश गरेको छ । दोस्रो संस्करणमा सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको ब्रदर्शले फाइनलको यात्रा तय गरेको हो ।

आज बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा द रियल ब्रदर्शले शिखर एफसी माथि शुन्यको विरुद्ध १ गोल गर्दै न्यू स्टार एफसीसँगको फाइनल खेलको भेट पक्का गरेको हो । हिजो बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा टेन नवोदयलाई २-१ गोल अन्तरले पराजित गर्दै न्यु स्टारले फाइनलको यात्रा तय गरेको थियो । अब, चैत्र ५ गते शनिबार उपाधीका लागि द रियल ब्रदर्श र न्यु स्टार एफसीका बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए ।

आजको खेलमा जितका लागि रियलका तिर्थराज बस्नेतले ३६ औं मिनेटमा गरेको एक मात्र गोल पर्याप्त बन्यो । शिखरको डिफेन्सहरु बिच एकआपसमा तालमेल नमिल्दा बस्नेतले गोल गर्न सफल भए ।

खेलको सुरुवातदेखि नै शिखरमाथि द रियलले दबाबमा राखेको थियो । द रियलका दुई सशक्त खेलाडीहरू सेनेहाङ लिम्बु र समिर याक्खा घाइते हुँदै खेल मैदान छाड्न बाध्य भएका थिए । यस्तैगरी दोस्रो हाफको अन्त्यतिर शिखरले दुई वटा निक्कै राम्रो अवसरहरु गुमाउन पुग्दा हार बेहोर्नुपर्‍यो ।

खेलको म्यान अफ द म्याच विजयी टिम द रियलका एक मात्र निर्णायक गोलकर्ता तिर्थराज बस्नेत घोषित भए ।
यसअघि फागुन २२ गते द रियल ब्रदर्श र न्यू स्टार एफसी आमने सामने भइसकेका छन् । सो खेलमा द रियल ब्रदर्शले शुन्यको विरुद्ध ३ गोल गर्दै न्यू स्टारमाथि सानदार जित दर्ता गराएको थियो ।

लिगको प्रतियोगितामा विजेता टिमले २ लाख ५१ हजार, उपविजेताले १ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ बेष्ट गोलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवार्ड, हाई स्कोर, बेष्ट कोच, राइजिङ प्लेयरले ७ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय र ट्रफी प्राप्त गर्ने आयोजक समितिका संयोजक संजिव गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय