काठमाडौं, चर्च ब्वाइज युनाइटेड मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक गोल गरे ।

सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७औं मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७औं मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३-० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औं मिनेटमा एक गोल फर्काए ।

खेल सकिन नौ‌ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५-१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

यसअघि मनाङ मर्स्याङदी , थ्री स्टार र हिमालयन शेर्पाले पनि पहिलो सिजनमै ‘डी’ डिभिजनबाट सी, सी डिभिजनबाट बी र बी डिभिजनबाट शीर्ष डिभिजनको टिकट काटेका थिए ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ । जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी)भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ ।

आरसीटी र सरस्वती ए डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय