हेटौंडा, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा घरेलु टोली विजय यूथ क्लब फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै विजय यूथ फाइनलमा प्रवेश गरेको हो । विजय यूथले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । विजय यूथका लागि खेलको ५२औं मिनेटमा विदेशी खेलाडी पेपेले गरेको गोल नै निर्णायक बनेको हो । अमिर श्रेष्ठको कर्नर प्रहारलाई पेपेले हेड गर्दै उत्कृष्ट गोल गरेका हुन् ।

पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेको थियो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट अवसरहरू गुमाएका थिए । खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता पेपे भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लब र क्यामरुनको एभिनियर एफसीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । यी दुई क्लबबीचको विजेताले ३० गते उपाधि भिडन्त गर्नेछ ।

स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय