काठमाडौं । राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा)को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् । अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको छ । एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना छ ।

एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै उनको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाट उपचारमा सहयोग गर्ने जनाए । ‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।

सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन् । उनले आर्मी र पुलिस विरुद्धको खेलमा गोल गर्न सकेकी थिइन् । यस्तै एक खेलमा २ गोल गरेकी थिइन् भने बाँकी ७ खेलमा ३ वा त्योभन्दा बढी गोल गरिन् । उनले चौदण्डीगढीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय