काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले फागुन १६ अर्थात् फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने स्पष्ट परेको छ ।

आज बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी ३ हप्ता निकै महत्वपूर्ण रहेको बताउदै संसदबाट पारित नभए फिर्ता हुने सन्देश दिएकी हुन् ।

फेब्रअरी अन्तिमको समयसीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं तोकेको हुनाले फेरि समय सक्न थप्न नसकिने बताइन् ।

उनले एमसिसी सम्झौतामा कुनै परिवर्तन नहुने पनि उनले स्पष्ट पारेकी छन् ।अमेरिकाले एमसीसी सम्झौता संसदबाट पारित गर्ने समयसीमा नेपालका नेताहरु आफैँले तोकेको र त्यसलाई कार्यान्वयन गर्नु उनीहरुको दायित्व भएको बताएको छ ।

उपाध्यक्ष सुमारले देउवा र प्रचण्डको प्रतिवद्धतापछि आफूहरूले डिसेम्बर २०२१ मै एमसिसी संसदबाट पारित हुने आशा गरेको भएपनि त्यो हुन नसकेकाले उनीहरूले नै मागेबमोजिम फेब्रुअरी २८ को समय सीमा तोकेको बताइन् ।

राजनीतिक दलहरुको बीचमा एमसीसी सम्झौतलाई संसदमा पेस गर्ने तर त्यसलाई लामो छलफलपछि मात्र पारित गर्ने विकल्पमा छलफल भइरहेतापनि सुमारले अब ढिलाई गर्ने नीति लिने, त्यही एउटै कुरालाई बारम्बार दोहोर्‍याउने समय नभएको बताउँदै अब छनोट गर्ने समय आएको प्रष्ट पारेकी छन् ।

नेपालका नेताहरुले पुनः थप समय माग गर्दै पत्र पठाएमा एमसीसीले के गर्छ भन्ने प्रश्नको उत्तर दिंदै सुमारले अब समयसीमा थप्ने विषयलाई पुष्टि गर्न नसकिने बताउदै आगामी मार्च महिनामा अमेरिकी विदेशमन्त्रीले नेतृत्व गर्ने एमसीसी बोर्डको बस्न लागेको बैठकअघि नेपालले अनुमोदन नगरेमा बोर्डलाई एमसीसी नेपाल कम्प्याक्टको विषयमा जानकारी गराउने उनले बताइन् ।

नेपालको भ्रमण सकेर फर्किने बेला एमसिसी पास हुनेमा आशावादी रहेको बताएकी सुमारले अझै पनि एमसिसी पास हुनेमा आफू आशावादी रहेको समेत बताइन् । अमेरिकामा पनि राजनीतिक दलहरूबीच मतभिन्नता हुने भएपनि संसदमा लगेर मतदान गरेर ती विषयलाई टुंग्याइने उल्लेख गर्दै सुमारले नेपालमा एमसिसी पनि संसदीय प्रक्रियामा जानुपर्ने बताइन् ।

एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले संसारका अरू मुलुकहरू पनि अनुदान पाउनका लागि कुरिरहेकाले नेपालका लागि आफूहरूले थप समय दिन नसक्ने बताएका छन् । सुमार र ब्रुक्स गत सेप्टेम्बरमा नेपाल आएका थिए ।

एमसिसीले तीन जना अमेरिकी राष्ट्रपति बाराक ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनका पालामा नेपाललाई दिन ५० मिलियन डलर ‘होल्ड’ गरेर राखेको भए पनि अब धेरै समय यही अवस्था जारी राख्न नसकिने उनले बताइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई तत्कालै संसदमा पेस गर्ने तयारी गरेपनि सत्ता गठबन्धनकै दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी त्यसका लागि तयार छैनन् । प्रधानमन्त्री देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि एमसीसी पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्नुपूर्व केही बुँदामा संशोधन गरेर मात्र पास गर्न सकिने भन्ने सर्त राखेपछि देउवा गठबन्धन तोडेरै भएपनि एमसिसी पास गर्न तातेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा भएपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी समेत दिएका थिए ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने अडान राख्दै आएका छन् । एमसीसीको विषयलाई लिएर पछिल्लो समय सभामुख सापकोटाले दवावमा छन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् ।

सभामुख सापकोटालाई महाभियोग लगाएर हटाएमा संसदवाट एमसिसी पारित गर्न सहयोग गर्ने एमालेले ग्रिन सिग्नल दिएपछि देउवाले सभामुख सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय