उर्लाबारीलाई समृद्ध, व्यवस्थित र स्वस्थ शहर बनाउने बहसमा सडक, पुल, भवन, पार्क र सौन्दर्यीकरणका विषयले प्राथमिकता पाउँदै आएका छन् । तर, एउटा महत्वपूर्ण प्रश्न भने बारम्बार ओझेलमा परेको छ–हाम्रा बालबालिका र युवाले खेल्ने ठाउँ कहाँ छ ?
शहर विकासको अर्थ कंक्रिटका संरचना थप्नु होइन । स्वस्थ नागरिक, अनुशासित युवा र सक्रिय समाज निर्माण गर्न खेलमैदान पनि उत्तिकै आवश्यक पूर्वाधार हो । त्यसैले उर्लाबारी नगरपालिकाले अब ‘एक वडा–एक खेलमैदान’लाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्छ । उर्लाबारीका प्रत्येक वडामा व्यवस्थित र सुरक्षित खेलमैदान हुनुपर्छ । एउटा वडामा एउटा मैदान भन्ने अवधारणा कुनै विलासिता होइन, स्थानीय सरकारको आधारभूत दायित्वका रूपमा लिनुपर्ने विषय हो । आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालमा बढी समय बिताइरहेका छन् । युवामा शारीरिक निष्क्रियता बढिरहेको छ । अर्कोतर्फ लागुऔषध दुव्र्यसन, गलत संगत र विभिन्न सामाजिक विकृतिको जोखिम पनि बढ्दो छ । यस्तो अवस्थामा खेलमैदान फुटबल वा क्रिकेट खेल्ने ठाउँ होइन, युवालाई सकारात्मक गतिविधिमा जोड्ने सामाजिक सुरक्षा संरचना पनि हो । तर, विडम्बना के छ भने भएका खेलमैदानसमेत विभिन्न नाममा मास्ने, संरचना थप्ने वा अन्य प्रयोजनमा प्रयोग गर्ने प्रवृत्ति देखिन थालेको छ । खेलमैदानको विकल्प नदिई त्यसलाई अन्य प्रयोजनमा प्रयोग गर्ने सोच कुनै पनि हालतमा दीर्घकालीन नगर विकासको नीति हुन सक्दैन । विशेषगरी जुन ठाउँमा वर्षौंदेखि बालबालिका र युवाले नियमित रूपमा खेल्दै आएका छन्, त्यस्ता मैदानलाई ‘खाली जग्गा’का रूपमा हेर्नु गलत हुनेछ । त्यो खाली ठाउँ होइन–त्यहाँ एउटा पुस्ताको भविष्य खेलिरहेको हुन्छ ।
उर्लाबारी नगरपालिकाले अब आफ्नो विकासको प्राथमिकता पुनरावलोकन गर्नुपर्ने बेला आएको छ । प्रत्येक वडामा कम्तीमा एउटा पर्याप्त क्षेत्रफल भएको खेलमैदान पहिचान गरी त्यसको संरक्षण, विकास र व्यवस्थापन गर्नुपर्छ । आवश्यक ठाउँमा नगरपालिकाले जग्गा खरिद गर्न सक्छ, सार्वजनिक जग्गा संरक्षण गर्न सक्छ वा स्थानीय समुदायसँग सहकार्य गरेर मैदान विकास गर्न सक्छ । मैदानमा खेल्ने वातावरण मात्र बनाएर पुग्दैन । व्यवस्थित मैदानसँगै शौचालय, खानेपानी, दर्शक बस्ने स्थान, प्रकाश, आवश्यक खेल सामग्री र नियमित मर्मतसम्भारको व्यवस्था पनि आवश्यक हुन्छ । यसका लागि नगरपालिकाले दीर्घकालीन खेलकुद गुरुयोजना नै बनाउनुपर्छ । ‘एक वडा–एक खेलमैदान’ अभियानलाई दलगत राजनीतिको विषय बनाउनु हुँदैन । नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दल, खेलकुद संघसंस्था, विद्यालय, युवा क्लब र स्थानीय समुदाय सबै एक ठाउँमा उभिनुपर्ने विषय हो यो । आज एउटा मैदान बचाउन नसक्ने हो भने भोलि हाम्रा बालबालिकाका लागि खेल्ने ठाउँ खोज्न लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आउन सक्छ । विकासका नाममा मैदान मासेर पछि खेलमैदान बनाउन बजेट छुट्याउनु बुद्धिमानी होइन । त्यसैले उर्लाबारी नगरपालिकाले स्पष्ट नीति घोषणा गर्नुपर्छ–कुनै पनि वडामा खेलमैदानको विकल्पबिना खेल्ने सार्वजनिक क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरिने छैन । भएका मैदानको संरक्षण गरिनेछ र मैदान नभएका वडामा नयाँ मैदानको खोजी तथा विकास गरिनेछ । नगरपालिकाले हरेक वर्षको बजेटमा खेलमैदान विकासका लागि निश्चित बजेट छुट्याउन सक्छ । विद्यालय र समुदायसँग साझेदारी गर्न सक्छ । निजी क्षेत्रलाई समेत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद पूर्वाधार निर्माणमा जोड्न सकिन्छ । उर्लाबारीको भविष्य अग्ला भवन र चिल्ला सडकमा छैन । मैदानमा दौडिरहेका बालबालिकाको उत्साह, खेलिरहेका युवाको ऊर्जा र स्वस्थ पुस्ताको निर्माणमा पनि उर्लाबारीको भविष्य जोडिएको छ । त्यसैले अब प्रश्न ‘कहाँ पार्क बनाउने ?’ वा ‘कुन संरचना थप्ने ?’ मात्र हुनु हुँदैन । प्रश्न यो पनि हुनुपर्छ–प्रत्येक वडाका बालबालिका र युवाले खेल्ने मैदान कहाँ छ ? उर्लाबारीलाई साँच्चिकै समृद्ध र स्वस्थ शहर बनाउने हो भने अब स्पष्ट निर्णयको समय आएको छ–प्रत्येक वडामा एक खेलमैदान बनाऊ । भएका मैदान बचाऊ । मैदान मासेर विकास होइन, मैदान जोगाएर भविष्य निर्माण गर ।























