नेपाली कांग्रेसको अधिवेशन नजिकिँदै जाँदा देशभरजस्तै उर्लाबारीमा पनि पार्टीभित्रको राजनीतिक तापक्रम बढ्न थालेको छ । वडा, नगरदेखि प्रदेश तहसम्म नेतृत्वका आकांक्षीहरू सक्रिय हुँदै गर्दा कांग्रेसको स्थानीय राजनीतिमा सम्भावित उम्मेदवार, उनीहरूको शक्ति, समूहगत प्रभाव र आगामी समीकरणबारे बहस सुरु भएको छ ।
उर्लाबारी नगर सभापतिका लागि आधा दर्जनभन्दा बढी आकांक्षीको नाम चर्चामा आउनुले एउटा कुरा स्पष्ट गर्छ–कांग्रेसभित्र नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने राजनीतिक ऊर्जा अझै कमजोर भएको छैन । आकांक्षीहरू हुनु आफैंमा लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेत हो । तर, प्रश्न यतिमात्र होइन कि सभापति को बन्ने ? प्रश्न यो पनि हो–सभापति बन्ने दौडले कांग्रेसलाई बलियो बनाउँछ कि अझ बढी विभाजित ?
यही प्रश्नको उत्तर खोज्ने क्रममा वर्तमान नगर सभापति सुरेन्द्र लिम्बूलाई नै पुनः एक कार्यकाल निरन्तरता दिने विकल्प पनि राजनीतिक बहसको एउटा महत्वपूर्ण पाटो बनेको छ । लिम्बूलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको तर्क ‘पुरानै मान्छेलाई दोहो¥याउने’ भन्नेमा सीमित छैन । यसको पछाडि संगठनभित्रको अनुभव, नेतृत्वको निरन्तरता र आकांक्षी सबै पक्षलाई एउटै संरचनाभित्र व्यवस्थापन गर्ने राजनीतिक रणनीति जोडिएको देखिन्छ ।
कांग्रेसको राजनीतिमा निर्वाचन अस्वाभाविक होइन । बरु प्रतिस्पर्धाले नेतृत्वलाई अझ जिम्मेवार र कार्यकर्ताप्रति उत्तरदायी बनाउन सक्छ । तर, स्थानीय तहको पार्टी राजनीतिमा निर्वाचनपछि बन्ने समूहगत ध्रुवीकरणलाई नजरअन्दाज गर्न पनि मिल्दैन । अधिवेशनमा एकअर्काविरुद्ध उभिएका समूहहरू भोलिका दिनमा एउटै उम्मेदवार जिताउन मैदानमा उत्रिनुपर्ने अवस्था आउन सक्छ । त्यतिबेला अधिवेशनको तिक्तता संगठनका लागि बोझ बन्न सक्छ । उर्लाबारी कांग्रेसका लागि अहिलेको चुनौती यही हो–व्यक्तिगत राजनीतिक महत्वाकांक्षालाई संगठनको सामूहिक आवश्यकतासँग कसरी सन्तुलन गर्ने ?
आज कांग्रेसले विगतको जस्तो सहज राजनीतिक वातावरण सामना गरिरहेको छैन । पुराना राजनीतिक दलप्रति जनताको असन्तुष्टि बढिरहेको चर्चा छ । नयाँ राजनीतिक शक्तिहरूले परम्परागत दलहरूको संगठन र नेतृत्वमाथि निरन्तर प्रश्न उठाइरहेका छन् । यस्तो अवस्थामा कांग्रेसभित्रै नेतृत्वका लागि हुने अनावश्यक विभाजनले पार्टीलाई थप कमजोर बनाउन सक्छ । त्यसैले अहिले उर्लाबारी कांग्रेसले अधिवेशनलाई नेतृत्व चयनको अवसरका रूपमा होइन, संगठन पुनर्संरचना र एकताको अवसरका रूपमा लिनुपर्ने आवश्यकता देखिन्छ । यदि सुरेन्द्र लिम्बूलाई नै नगर सभापतिमा निरन्तरता दिने सहमति बन्छ भने त्यसको अर्थ अन्य आकांक्षीको राजनीतिक भूमिकालाई समाप्त गर्नु होइन । बरु उनीहरूलाई वडा, नगर, क्षेत्रीय तथा पार्टीका अन्य जिम्मेवारीमा प्रभावकारी भूमिका दिएर नेतृत्वको साझा संरचना निर्माण गर्नु हो । सभापतिको कुर्सी एउटै भए पनि पार्टी निर्माणको जिम्मेवारी धेरैको हुन सक्छ । यस्तो सहमति बन्न सके उर्लाबारी कांग्रेसले एउटा महत्वपूर्ण राजनीतिक सन्देश दिन सक्छ–पदका लागि प्रतिस्पर्धा गर्न सकिन्छ, तर पार्टीका लागि सहकार्य गर्न सकिन्छ । तर, सहमतिको नाममा आकांक्षीहरूको राजनीतिक इच्छालाई दबाउने प्रयास भयो भने त्यसले उल्टो परिणाम पनि दिन सक्छ । सहमति त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ, जब त्यो सबै पक्षको सम्मान, सहभागिता र जिम्मेवारी बाँडफाँडमा आधारित हुन्छ । त्यसैले लिम्बूलाई निरन्तरता दिने हो भने त्यससँगै अन्य आकांक्षीलाई पनि निर्णायक राजनीतिक भूमिकामा समेट्ने स्पष्ट समझदारी आवश्यक हुन्छ ।
अर्कोतर्फ, आकांक्षीहरूले पनि आफ्नो दाबीलाई व्यक्तिगत महत्वाकांक्षाका रूपमा होइन, पार्टी निर्माणको वैकल्पिक दृष्टिकोणका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । ‘म किन सभापति बन्ने ?’ भन्दा पनि ‘म सभापति भए कांग्रेसलाई के फरक पार्छु ?’ भन्ने प्रश्नको जवाफ कार्यकर्ताले खोज्नेछन् । उर्लाबारी कांग्रेसको अधिवेशनले एउटा व्यक्तिको राजनीतिक भविष्य मात्र निर्धारण गर्ने छैन । यसले आगामी दिनमा कांग्रेसभित्रको शक्ति सन्तुलन, संगठनात्मक एकता र निर्वाचनको तयारीको दिशासमेत तय गर्नेछ । त्यसैले अहिलेको आवश्यकता ‘कसले बाजी मार्ला’ भन्ने बहसभन्दा माथि उठेर ‘कांग्रेसलाई कसरी जिताउने ?’ भन्ने बहस निर्माण गर्नु हो । सुरेन्द्र लिम्बूलाई निरन्तरता दिने वा नयाँ नेतृत्व ल्याउने–निर्णय जुनसुकै भए पनि त्यो कार्यकर्ताको लोकतान्त्रिक अधिकार र सहमतिबाटै हुनुपर्छ । तर, यदि वर्तमान नेतृत्वलाई निरन्तरता दिँदा सबै आकांक्षीलाई सम्मानजनक जिम्मेवारीमा समेटेर संगठनलाई थप एकताबद्ध बनाउन सकिन्छ भने त्यो विकल्पमाथि गम्भीर राजनीतिक विमर्श हुनु स्वाभाविक छ । अन्ततः अधिवेशनले व्यक्ति छान्नेछ, तर त्यसअघि कांग्रेसले आफ्नो राजनीतिक दिशा छान्नुपर्नेछ । उर्लाबारी कांग्रेसका लागि यो अधिवेशन पदको प्रतिस्पर्धाभन्दा पनि एकताको परीक्षा बन्नेछ । प्रतिस्पर्धाले नेतृत्व जन्माउन सक्छ, तर सहमतिले संगठन बलियो बनाउन सक्छ । अब कांग्रेसले कुन बाटो रोज्छ, त्यसले आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ ।























