र उनको आत्म अनुसन्धान भाष्य
गाउँघरमा कहिलेकाहिँ बौद्धिक कुपोषण हुन्छ र म उचित पात्रहरु खोजेर उनीहरुसँग अनेक भलाकुसारी गर्ने गर्छु । निर्वाचनको कर्कश भीडले गाँजिएकै बेला हालसालै होमटाउनका एक आध्यात्मिक धरोहरको पुस्तक हात लाग्यो । यसै त म उनलाई नामले चिन्दथें । उनको कामत मेरो जन्मस्थान भिँगामारी नजिकै, राजघाट । उनी मेरा माइला मामा निधिनाथ खनालका निकट छिमेकी पनि ।
हो, म राजघाटका एक सफल कृषक तथा आध्यात्मिक अभियन्ता महानन्द न्यौपानेको कुरा गरिरहेको छु र यहाँ म २०७० सालमा उनले लेखेर प्रकाशित गरेको पुस्तक – दुर्गा सप्तशति भाष्य, चितितत्वको आत्मरुपले अनुसन्धान ग्रन्थको प्रसंग छेडिरहेको छु । उर्लावारी चौकमा व्यवसाय गर्ने आध्यात्मिक रुपले लगभग चेत खुलेका महानन्द बाका सुपुत्र गोविन्दले जब मलाई यो पुस्तक उपहार दिए, मैले समय नगुमाइ सर्सर्ती पुस्तक स्क्यान गरेँ । एक हिसाबले आध्यात्मिक आयाम नचुमेकाहरुलाई यो पुस्तक अलिक क्लिष्ट नै लागे तापनि जिन्दगीलाई तत्तमीमांसा गर्न उहाँको यो पुस्तक सहायक हुने ठानेँ र केही दिन लगाएर मैले यसको अध्ययन गरेँ । अनि अहिले मेरा औँलाहरु यसरी आफसेआफ किबोर्ड ठोकिरहेका छन् ।
शहरमा मात्रै बौद्धिकता हुन्छ भन्ठान्नेहरुका लागि राजघाटका तत्वदर्शी महानन्द न्यौपाने एक दह्रो झापड हुनसक्छन् ।
उनी ब्रह्मज्ञानी डा. क्षितिशचन्द्र चक्रवर्ती जस्ता प्रख्यात विद्वान आध्यात्मिक गुरुका चेला हुन् । डा. चक्रवर्तीले प्रस्तुत पुस्तकका बारेमा लेखेका छन्, अद्वैत संस्था नेपालका भक्तहरुबाट रचित र प्रकाशित पुस्तक पुस्तिकाहरुको यो बिशेषता हुन्छ कि तिनीहरुमा सम्पूर्ण द्वैत प्रपञ्चको श्रुति, युक्ति विद्वद अनुभवद्वारा निरसनपूर्वक केवल परिशिष्ट स्वयं प्रकाशमान अद्वैत निजी स्वरुपको प्रतिपादन गरिन्छ । प्रसंगवश ईश्वरत्तव र मनुष्यको प्रारब्धमा अधिष्ठित भएको ईश्वर स्वरुपको निरुपण पनि उपलब्ध हुन्छ ।
कुनै बेला गेरुवा वश्त्र लगाएका साधु वा जोगीहरु देख्नासाथ म उनीहरुको पछि लाग्थें र उनीहरुसँग घण्टौँ आत्मिक जागरणका चर्चाहरु गर्ने गदथें । अनि म पनि उनीहरु जस्तै घरबार त्यागेर सन्यास लिन चाहन्थें । तर आफू त्यसरी सन्यास लिनका लागि जन्मिएको नभएर गृहस्थ धर्म निरन्तरताको एक सदस्य भएको वोध भएपछि म गृहस्थाश्रममा फर्किएको थिएँ । विभिन्न ग्रन्थहरुमा गृहस्थाश्रमलाई नै उत्तम पनि मानिएको छ । आध्यात्मिक चिन्तक महानन्द न्यौपानेका बारेमा खोज गर्दै जाँदा के स्पष्ट हुन गयो भने, उनी एक सफल गृहस्थ हुन् र यससँगसँगै उनले आफ्नो साधना पनि निखार्न सफल भए । यसर्थ ज्ञान प्राप्तिका लागि घरबार त्याग्नै पर्छ भन्ने अपभ्रंश किस्साका अगाडि उनी एक सामाजिक द्रष्टाकै हैसियतमा जिन्दगीलाई सरल बनाउन पनि सक्षम देखिन्छन् । नत्र यो घोर कलियुगमा परमार्थ कहाँ ?
उनको पुस्तकले ‘म को हुँ’ भन्ने अति वैयक्तिक र ब्रह्म प्रश्नलाई हल गर्ने प्रयास गरेको छ । पुस्तक मुमुक्षुहरुका लागि एक मार्ग निर्देशक जस्तो पनि लाग्छ । यसमा शाष्त्रका प्रमाणहरु पेश गरेर नै भाष्य गरिएको छ । सिद्धान्त मात्रै होइन, यसमा प्रायोगिक भाष्यहरु पनि समावेश छन् । त्यसैले यसका लेखक नयौपाने पण्डित कम र साधक बढी नजर आउँछन् । वेद, उपनिषद, भागवत, अवधूतगीता, योगवाशिष्ट तथा अष्टाबक्रगीता जस्ता प्रामाणिक दृष्टान्तहरुले पुस्तकको प्रामाणिकता बढाएका छन् । पुस्तकमा परमार्थ सत्तालाई बडा सरल ढंगले व्याख्या गरिएको छ ।
प्रखर द्रष्टा महानन्द न्यौपानेको सम्पूर्ण परिवार नै आध्यात्मिक छ । जीवन शाष्त्रीय अनुशासनले प्रेरित भएको खण्डमा जस्तै अँध्यारोमा पनि एक चहकिलो प्रकाशले साधकलाई पछ्याइरहेको हुन्छ । आजको यस चरम भौतिक जगतमा गृहस्थ र आध्यात्मलाई साथसाथै लैजान सके केही चमत्कार गर्न सकिन्छ । यस्तै चमत्कारिक व्यक्तित्वका रुपमा पुस्तकका लेखकलाई पनि लिन सकिन्छ । किनभने, ७० वर्षको उमेरमा पनि उनी उक्तिकै गहन साधनामा लीन छन् । पूर्वको धार्मिक स्थल चतरा बसेर उनी थप ग्रन्थहरु लेखिरहेका छन् ।
संखुवासभाको चित्लाङमा जन्मिएका उनले अद्वैत विश्वविद्यालयबाट पाँच वर्षे देशिक तालिम लिएका छन् । हाल उनी अद्वैत संस्था संरक्षण मञ्च, पूर्वाञ्चलका क्षेत्रिय अध्यक्ष छन् । साथै उनी मातृ–पितृ भक्तशिरोमणि ‘अद्वैत मुखमण्डन’ देशिकवर महानन्द सरस्वती जस्तो उपाधिले विभूषित छन् । यस पुस्तकका अलावा उनले वेदान्तको गम्भिर विषय पनि नेपाली लोकलयमा र आत्म साक्षात्कारको लोकलयमा जस्ता कृतिहरुको प्रकाशन गरिसकेका छन् ।
यसप्रकार आत्मसाक्षात्कारको मार्गमा गहिरो जान चाहने साधकहरुका लागि र चितितत्व बुझ्नका लागि यो पुस्तक निकै महत्वपूर्ण देखिन्छ ।
यो पुस्तक उपलब्ध गराउनु हुने युवा आध्यात्मिक अभियन्ता तथा व्यवसायी गोविन्द न्यौपानेलाई हार्दिक आभार व्यक्त गर्दछु ।
#लिलाराजखतिवडा #NewArticle #BookReview

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!