मोरङ । “दिगो तथा सम्मानित रोजगारीका लागि सीप” भन्ने नारासहित मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा वैदेशिक रोजगारीबाट फर्किएका युवा–युवतीलाई लक्षित गरी सीप तथा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

मिक्लाजुङ गाउँपालिका र कोशी प्रदेश सरकारको लगानी तथा गाउँपालिकाको श्रम तथा रोजगार शाखा (REMI) को महत्वपूर्ण सहयोगमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका करिब २० जना युवा–युवतीको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मिकलाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले विदेशबाट फर्किएका युवाको सीप, अनुभव र ऊर्जा स्वदेशको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले वैदेशिक रोजगारीलाई अन्तिम विकल्पका रूपमा मात्र लिनुपर्ने उल्लेख गर्दै गाउँपालिकाले युवालाई स्वदेशमै उद्यम र स्वरोजगारमा जोड्ने नीति अनुरूप यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताए।

अध्यक्ष राईले स्थानीय स्तरमै उत्पादन, कृषि, पशुपालन, पर्यटन तथा साना उद्यममार्फत रोजगारी सिर्जना गर्न सकिने भन्दै युवाहरूलाई आत्मविश्वासका साथ व्यवसाय सुरु गर्न आग्रह गरे। आवश्यक परे गाउँपालिकाले सीप, परामर्श तथा सम्भावित सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा मिकलाजुङ गाउँपालिका–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण) ले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पुनः विदेश जान बाध्य नपर्ने वातावरण सिर्जना गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। उनले युवाहरूले प्राप्त गरेको सीप र अनुभवलाई स्थानीय स्रोत–साधनसँग जोडेर उद्यम सञ्चालन गर्न सके आर्थिक अवस्था मात्र नभई गाउँको समग्र विकासमा पनि सकारात्मक योगदान पुग्ने धारणा राखे।

उनले गाउँपालिकाले सञ्चालन गरेका यस्ता सीपमूलक कार्यक्रमले युवामा आत्मनिर्भर बन्ने सोचको विकास गर्ने विश्वास व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। कार्यक्रममा सहभागीहरूलाई उद्यम सञ्चालन, व्यवसाय व्यवस्थापन, स्थानीय अवसरको पहिचान तथा स्वरोजगारका सम्भावनाबारे जानकारी दिइएको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमशीलतामा आबद्ध गराउँदै स्थानीय स्तरमा आयआर्जनका अवसर सिर्जना गर्नु हो।

कार्यक्रममा सहभागी युवा–युवतीहरूले यस्ता तालिम तथा अभिमुखीकरणले आफ्नै गाउँठाउँमा व्यवसाय सुरु गर्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्। मिकलाजुङ गाउँपालिकाले आगामी दिनमा पनि युवामैत्री तथा रोजगारमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय