उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–८ ले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ साझेदारी वनसँगको सहकार्यमा १ हजार १ सय वटा विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको छ ।
वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) को प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा आँपसहित कागती, अम्बा, कटहरलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा स्थानीय कृषक, उपभोक्ता तथा इच्छुक घरधुरीलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष कुँवरले खेतीयोग्य जमिनको सदुपयोग गर्दै फलफूल उत्पादन बढाउने, वातावरणलाई हराभरा बनाउने र स्थानीय नागरिकलाई दीर्घकालीन आम्दानीको स्रोत सिर्जना गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको बताउनुभयो । उहाँले घर–घरमा फलफूलका बिरुवा रोपेर संरक्षण गर्न आग्रह गर्दै स्थानीय उत्पादन वृद्धि भएमा कृषकको आर्थिक अवस्था सुधार हुनुका साथै बजारमा बाहिरबाट आउने फलफूलमाथिको निर्भरता पनि घट्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी कृषकहरूले निःशुल्क बिरुवा प्राप्त भएपछि व्यावसायिक तथा घरेलु फलफूल खेती विस्तार गर्न सहज हुने बताएका छन् । मिक्लाजुङ गाउँपालिका–८ ले आगामी वर्षहरूमा पनि कृषि उत्पादन वृद्धि, वृक्षारोपण अभियान र वातावरण संरक्षणलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय