उषा रश्मी पाण्डेय

साउनको महिना शुरू भएको छ । सहरमा मात्र होइन गाँउगाँउमा पनि यस महिनाभरि हरियो चुरा अनि मेहन्दीले सिंगारिएका हातहरू देख्न पाइन्छन् । श्रृंगार समाग्रीका पसल हुन वा सडकको छेउमा उभिएका ठेलाहरू नै किन नहुन यी समाग्रीहरूले भरिभराउ भएका देखिन्छन् । हाम्रो समाजमा यस्तो दृष्य देखिन थालेको डेढ दुई दशकभन्दा बढी भएको छैन पक्कै पनि । त्यसैले त मेरा बाल्यकालका सम्झनाहरूले श्रावण भन्ने बितिक्कै बेग्लै नै दृष्य प्रस्तुत गरिरहेका हुन्छन् । यस महिनाको नाम सुन्ने बितिक्कै म अहिले लुप्तप्राय भैसकेका तर ज्यादै नै गहन, मिठासपूर्ण र सुन्दर ती उत्सवमय क्षणहरूलाई सम्झन पुग्छु जुन मैले मेरो जन्म स्थल बैतडीमा देखेको थिए, बाँचेको थिए ।
यस महिनाको नामले मात्रै पनि मेरो मानसपटलमा एउटा पेटिंग जस्तो दृष्य झल्किन्छ । अब म बेली विस्तार लगाएर यहाँ वर्णन गर्दछु कि त्यो पेंटिग कस्तो देखिन्छ भनेर । त्यो पेंटिगको पार्श्व भागमा कालो कालो जस्तो देखिने हरियो रंग छयापछयाप्ती छ । गाँउबस्तीभन्दा अलिक टाढा प्रस्तरले निर्मित शिवालयहरू छन् ।

शिवालयमा दियो बाल्न अएका महिलाहरू छन् । शिवालयको नजिकै भएको टहरोमा अहोरात्र मन्दिरमै जागरण गरी भजन किर्तन अनि ध्यान गर्न अएका मानिसहरू धुनीको वरीपरी मौन अनि नतमस्तक भएर बसेका छन् ।
साउनको महिना भन्ने बितिक्कै मेरो मानसपटलमा एउटा भव्य चित्रकला जस्तो दृष्य मात्रै कहाँ हो र मधूर संगित पनि सजिव भएर गुंजिरहन्छ ।

साँझपख गाँउका पाटीहरूमा बज्ने दमाहाको संगीत मेरो ह्रदयको नजिकै बजिरहेझै भान हुन्छ । त्यो संगितको ध्वनी मलाई ठ्यक्कै त्यस्तो नै लाग्छ जस्तो की अनाहत चक्रलाइ जागृत गर्ने कुनै नाद बजिरहेको होस् । ती साँझहरूमा सबैजना खाना खाएर, घरको काम सिधाएर गाँउको माझमा रहेका पाटीहरूमा भेला हुन्थे ।

ती पाटीहरूका छेउमा दमाहा बजिरहेका हुन्थे भने पाटीको मध्ये भागमा महिलाहरू खेल सुदूरपश्चिमको एउटा सामुहिक नृत्य मा तल्लिन भैरहेका हुन्थे । हामी स-साना केटाकेटीहरू भने छेउछाउमा बसिरहेका हुन्थ्यौ । साथीले ल्याइदिएको पोलेको मकै चपाउदै, साथीसँग बात मार्दै वा आकाशको चन्द्रमा हेर्दै टोलाएर ।

अनि बिहानी पख शिवालयमा बजिरहेका घण्टीका ध्वनीसँगै मेरो निन्द्रा खुल्दथ्यो । ठूलो, सानो, मधूरो, तिक्ष्ण अनि सुस्त अवाजहरूको मिश्रण त्यो ध्वनी पनि अनौठो नै लाग्थ्यो मलाई। अहिले पनि कुनै देवालयहरूमा एकैपटक धेरै घण्टीहरू बजेको सुन्दा त्यही अलौकिक ध्वनीलाई नै सम्झन पुग्दछु म ।
सुन्दर दृष्य र मधूर संगितमा मात्रै सिमित छैनन् मेरा साउने यादहरू । यहाँ त जोडिएर आएका छन सुगन्धका कुरा पनि । साँझपख हजुरआमाले गाईको घिउमा बत्ती बाल्दा कोठाभरि फैलिने दियोको सुगन्ध । तितेपाती बटारेर धूप बनाएर बालिदा फैलिने बासना । आहा ! घरका ढोका, झ्यालमा झिझिरकाणी नाम भएको एउटा झाडीदार विरूवाका स- साना हाँगाहरू ल्याएर राख्ने गरेको एउटा अर्को विशेष सम्झना पनि जोडीएर आँउछ यही महिनासँगै। त्यो विरूवाका हाँगा पात संकलन गर्ने कार्यमा केटाकेटीहरूलाई नै संलग्न गराइने भएकाले म पनि गाँउका दिदीदाइहरूको साथमा त्यो विरूवाको खोजीमा छेउको जंगल पुगेको सम्झन्छु । झ्यालढोकामा त्यस झिझिरकाणी राख्नको अभिप्राय भने भूतप्रेतहरू घर भित्र पस्न नपाउन भन्ने हुन्थ्यो ।
त्यो बखत यी कृयाकलाप मध्ये कतिपयमा आफै सहभागी हुँदा र अन्यको साक्षी बनेर बस्दा थाहा थिएन साउनमा किन यस्तो गरिन्छ भनेर तर अहिले आएर सोच्छु माथि वर्णित कृत्यहरू यतिक्कै गर्दैनथे। यी सबै कुराहरूको पछाडी निकै नै गहन अध्यात्मिक तथा वैज्ञानिक कारणहरू थिए । सनातन मान्यता अनुसार साउन देखि दक्षिणायन शुरू हुन्छ जून समयलाई देउताहरूको रातको रूपमा लिइन्छ ।

यो समयमा देउताहरू सुत्ने भएकाले नकरात्मक शक्तिहरू सक्रिय हुन जान्छन र ती शक्तिहरूबाट रक्षा होस भन्नका निम्ति शिव आराधना गर्नुपर्दछ भन्ने मान्यता रहेको छ। वास्तवमा भन्ने हो भने यी नकरात्मक शक्ति बाह्य भूतप्रेत केही होइनन् । ति त हाम्रै तमस र रजस प्रवृतिबाट उत्पन्न भएका नकरात्मक भावहरू हुन् ।

हाम्रो तमस प्रवृतिले हामीलाई अल्छी, फोहरी, हीनताबोधले ग्रस्त, निराश, अवसादग्रस्त बनाइरहेको हुन्छ भनेर जस प्रवृतिले हामीलाई अति महत्वाकांक्षी, अंहकारी, क्रोधी, आक्रमक अनि चंचल बनाइरहेको हुन्छ । यस्ता प्रवृतिप्रति बेलैमा सचेत हुन सकिएन भने मानिसबाट जघन्य अपराध र कुकृत्यहरू हुन पुग्दछन् ।

मानिस विक्षिप्त नै पनि हुन पुग्दछ। यी प्रवृतिबाट मुक्त हुने उपाय भनेको ध्यान, योग र भगवत साधना नै हो । वर्खाको यो समय जून बेला खेतीपातीको काम सकाएर फूर्सदिलो भइएको हुन्छ । झरिले गर्दा उति सारो मेलापात र हिडडूल नि हुदैन् । यही समयको सदुपयोग गर्दै ध्यान अनि योगका देवता शिवको पूजा आराधना गरिन्छ । यस्तो साधनामा तल्लिन हुन सहयोगी होस भन्नका निम्ति मासाहार त्यागेर शाकाहार ग्रहण गरिन्छ साथै उपवास पनि बसिन्छ ।

यस महिनामा पूजा र ब्रत बाहेक अरू तामाझामका पर्व र समारोहहरू त्यति मनाइदैनन जसको कारण साधनामा बाधा नपुगोस भनेर नै हुनु पर्दछ । आत्मिक जागरणको लागि भनेर छुटाइएको यस साउन महिनाको महिमा अपरम्पार छ । यसको महिमालाई बुझेर यस समयको उचित सदुपयोग गर्न सकेमा हाम्रो जीवनको गरिमा पनि पक्कै बढ्ने नै छ ।

यस श्रावणले हामीलाई स्वयम र अरूका निम्ति विधायक उर्जा जगाउन सक्ने बनाओस यही नै शुभेच्छा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!