उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (क) का सदस्य जयधर्म आचार्यको नाम प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ ।
प्रदेश नं. १ समितिबाट आचार्यको नाम केन्द्रीय समितिमा पुगेसँगै उहाँको चर्चा चलेको छ । पार्टीले आफुलाई टिकट दिए मोरङ क्षेत्रबासीहरुको साथ र सहयोगले चुनाब जित्ने उहाँको भनाई छ । ‘राजनीति सेवा हो’ आचार्यले भन्नुभयो–‘पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाएको खण्डमा जित्छु भन्ने लागेको छ । ’ आचार्यले पार्टीमा बलियो दाबेदारी प्रस्तुत गरिरहनुभएको छ ।
को हुन् आचार्य ?
सामाजिक क्षेत्रमा क्रियाशील एक कर्मठ, अनुभवी र विविध क्षेत्रको ज्ञान भएका व्यक्तित्वको आचार्य उर्लाबारी वार्ड नं. ७ भृकुटी मार्गमा स्थायी बसोबास गर्दै आउनुभएको छ । ६५ बर्षीय जयधर्मले झण्डै दुई दशक उर्लाबारी गाबिस सचिब एवं प्रमुखकै भूमिका निर्वाह गर्दै जनताको मन जित्न सफल बन्नुभएको थियो । २०१५ साल बैशाख १ गते पूर्वी पहाडी जिल्ला पाँचथर नागी ४ मा बुबा वृह्ष्पति र स्वर्गीय आमा लीलादेवी आचार्यका जेठा सन्तानका रुपमा जन्मेका थिए ।
उहाँले बहुमुखी विकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिवका रुपमा २०३५ सालमा पाँचथरको लिम्बाबाट सरकारी जागिरको यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि पाँचथरकै सदरमुकाममा पनि काम गर्नुभयो । त्यस यता मोरङको झुर्किया, राजघाट, ईटहरा हँुदै उर्लाबारीमा करिब २ दशक लामो समय सक्रिय रुपमा लागेर सचिव एवं गाविस प्रमुखको भूमिकालाई निष्ठा पूर्वक सफल पार्नुभयो । २०४९ फागुनदेखि २०६८ साउनसम्म उर्लाबारी गाबिस सचिबको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । २०६८ सालमा उर्लाबारी नगरपालिका घोषणा हुँदा कार्यालय प्रमुखको समेत जिम्मेवारी निर्वाह गरे पनि नगरपालिका घोषणा कार्यान्वयन हुन सकेन । उहाँले सचिब तथा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्दा जनताका कामलाई सरल र सहज बनाउन महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । उहाँलाई अझै पनि धेरैले सचिब भनेर चिन्ने गरेका छन् । उहाँको लोकप्रियता अझै पनि यस क्षेत्रमा देख्न सकिन्छ । २०३३ सालमा स्व.गोमा सुवेदीसँग विवाह बन्धनमा बाँधिएका उहाँ २०३८ सालमा वेदकुमारी चम्लागाईसँग पुनः विवाह गर्न पुग्नुभयो । ३ छोरा २ छोरीका बुबा उहाँले स्वर्गीय आमा लीलादेवी र स्वर्गीय श्रीमती गोमाको नाममा सञ्चार क्लव नेपालाई १ लाखको अक्षयकोष प्रदान गरी प्रत्येक बर्ष दुई जना पत्रकारहरुलाई पुरस्कृत गर्दै आउनुभएको छ । उर्लाबारी गाविस सचिव रहँदा स्थानीय कला, साहित्य, सञ्चारका साथै उपभोक्तालाई प्रोत्साहन गर्न उहाँले पुरस्कारको थालनी समेत गर्नुभएको थियो । आचार्य विभिन्न संघसंस्थामा आवद्ध भई निरन्तर रुपमा सामाजिक कार्य गर्दै आउनुभएको छ ।
उहाँलाई २०४५ सालमा नेपाल सरकारले भूकम्प पीडित सेवा पदक र २०६० सालमा दैविक प्रकोप सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो । यस्तै, सोही वर्ष उनी मोरङ जिल्लाका उत्कृष्ट गाविस सचिवहरु मध्येबाट दोस्रो हुँदै पुरस्कृत बन्नुभयो भने गाबिस पनि पुरस्कृत बन्न पुगेको थियो । त्यस्तै २०५५ मा निर्वाचन आयोग मोरङले उत्कृष्ट सचिवका रुपमा पुरस्कृत गरेको थियो । यसका अलवा भिजन फाउन्डेशन नेपाल, सञ्चार क्लव नेपाल , जिवन बचाउ उपचार सेवा गृह, गाविस सचिव हकहित केन्द्र, उर्लाबारी गाविस, राजघाट गाविस, जिविस मोरङ लगायतले सम्मान गरिसकेको छ । नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि रहेको परिवारमा हुर्केमा उहाँका बुबा मात्र नभएर आमासमेत सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । उहाँका बुवा २००७ सालदेखि नेता देवान दोर्जेको नेतृत्वमा नेपाली कांग्रेसमा प्रवेश गरी २०१५ साल, ०१७ साल, ०३६ साल, ०४६ साल र ०६२ सालमा सक्रिय रहँदै २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट पाँचथर नागी वडा नं. ४ को वडा अध्यक्षमा निर्वाचित भई सधैं जनताको काममा कर्मनिष्ठ भएर काम गर्नुभएको थियो । उहाँका बुवालाई नेपाली कांग्रेस प्रजातान्त्रिक सेनानी संघले पुराना र निरन्तर पार्टीमा काम गरेकाहरुलाई प्रदान गर्ने सम्मानले २०७१ सालमा काठमाडौंमा सम्मानित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय