काठमाडौं। सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ ।

हालसम्म देशभर संक्रमितको संख्या ३० हजार ४ सय ८३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मृतकको संख्या १ सय ३७ पुगेको छ । शुक्रबार मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुने संख्यामा यो हालसम्मकै उच्च हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो । मापदण्डमा अत्यावश्यकीय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ ।

यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क)को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।

धेरै प्रयोग हुने चिजहरू (ढोका, मेसिनका ह्यान्डल, टेबल) डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर रोक्न स्वयं व्यक्ति सचेत र सतर्क हुनुपर्ने आवश्यकता औंल्याए । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय