उर्लाबारी । १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले जनस्वास्थ्यको क्षेत्रमा निजी अस्पतालहरुको योगदान महत्वपूर्ण रहेपनि सेवामुखी भन्दा नाफामुखीतर्फ केन्द्रीत रहेको बताउनुभयो ।
मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि. को नवौं बार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । हरेक नागरिकहरु रोगी भई अस्पताल मात्र बस्नुपरेमा त्यो देशको उन्नति कहिल्यै नहुने बताउँदै खापुङले स्वास्थ्य समस्या समधानका लागि सबैजना एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निजी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका साथै रोजगारी सिर्जना समेत गरेको बताउनुभयो । प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले कयौं विमारीहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको र सबैको पहुचँमा स्वास्थ्य सेवा पुर्याउन आफूले आवाज उठाउने बताउनुभयो । कयौं विमारीहरु उपचार गर्दागर्दै टाट पल्टिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले आधारभुत स्वास्थ्य सेवा हरेक नागरिकको संवैधानिक अधिकार भएको बताउनुभयो । विपन्न विमारीहरुको निःशुल्क उपचार गरी अरनिको अस्पतालले सामाजिक दायित्व निर्वाह गरेको र अस्पताल नाफातर्फ नभई सेवातर्फ केन्द्रीत भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।


त्यस्तै, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्य नै धन हो भन्दै लापारवाही गरे स्वास्थ्यमा ठूलो जोखिम उत्पन्न हुनेतर्फ सचेत गराउनुभयो । ‘स्वास्थ्य यस्तो चिज हो, स्वास्थ्य ठीक छ भने सबै कुरा हुन्छ, स्वास्थ्य ठीक छैन भने केहीपनि हुँदैन’, उहाँले भन्नुभयो ।
त्यस्तै, उर्लाबारीका पूर्व मेयर खड्ग फागोले अस्पतालले पुर्याएको गुणस्तरीय चिकित्सा सेवाको प्रशंसा गर्नुभयो । उहाँले नगरको विकासको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
हस्पिटलका अध्यक्ष लोलिम पोमुको अध्यक्षतामा भएको सो सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी महिला विभागकी नगर अध्यक्ष निरुपा निरौला र रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष हेमचन्द्र भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो । हस्पिटल सञ्चालक समिति सदस्य तथा पूर्व जनप्रतिनिधि वम पोमुले सभामा स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संचारकर्मी मन नेम्बाङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय