उर्लाबारी । झापाको दमक– ६ स्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुको मन जित्न सफल बनेको छ ।
शेयर सदस्यहरुको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरी उनीहरुको मन जित्न सफल बनेको हो । २०५४ सालमा स्थापना भएको मेची बहुउद्देश्यीय सहकारी शेयर सदस्यको रोजाईको सहकारी बनेको छ । २८ औं बार्षिक साधारणसभा तथा ३० औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा सहकारीले शेयर सदस्यहरुको आवश्यकताको आधारमा योजना बनाउने जनाएको छ ।
संस्थाले विभिन्न इकाईगत साधारणसभा सम्पन्न गर्दै भदौं १२ गते प्रमाणीकरण सभासहित सभा समापन गरिने जनाएको छ । संस्थाको सभाहलमा सोमबार संस्थाको सञ्चार उपसमितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा संस्थाका उपलब्धिहरुको सार्वजनिकसहित आगामी दिनमा संस्थाले लिएका नीति र कार्यक्रमका बारेमा जानकारी गराएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सुन्दरहरैंचामा यसबर्ष थप सेवा केन्द्र विस्तार गर्ने, कमल–७ स्थित इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्थासँग एकीकरणको लागि छलफल गर्ने , मेची सहकारी आवास –२ सम्बन्धिको परियोजना सञ्चालन लगायतका प्रस्ताव शेयर सदस्यहरु माँझ साधारणसभा मार्फत लगिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले आर्थिक बर्ष २०८०÷०८१ मा कूल ३ अर्ब ८७ करोड ८६ लाखको वासलात तयार भएको जानकारी दिँदै शेयर पुँजी ३७ करोड १८ लाख, विभिन्न कोषहरुमा ३४ करोड ८४ लाख रुपैयाँ जम्मा भएको उल्लेख गर्नुभयो ।
पत्रकार सम्मेलनमा सञ्चार उपसमितिका संयोजक नरपति पाण्डेको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रोमनाथ ओलीलगायत विभिन्न बिषयगत समिति र सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाले विभिन्न शीर्षकमा यसवर्ष सरकारलाई ३ करोड २१ लाख ९ हजार ५६२ रुपैया कर तिरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेका अनुसार जिल्ला भित्रका सहकारीहरु मध्ये मेचीले अघिल्ला वर्षझै यसवर्ष पनि सम्भवत जिल्लामै सबैभन्दा धेरै कर बुझाएको हो । जस अनुसार कर्मचारीको पारिश्रमिकक वापत ८ लाख १३ हजार ५ सय ४०, व्याजकर वापत १ करोड ३९ लाख २७ हजार ४८ रुपैया , आयकर वापत १ करोड ८८ लाख ४ हजार ९ सय १४ रुपैयाँ कर बुझाएको उहाँले बताउनुभयो । संस्थाले साधारणसभाका अवसरमा बर्षेनी प्रदान गर्दै आएको दुई पत्रकारिता पुरस्कारबाट साझा मञ्च अनलाइनका सम्पादक गोपाल काफले र दमकका सुदिप अधिकारीलाई पुरस्कृत गरिने भएको छ । काफ्लेलाई संस्थाका पूर्व अध्यक्ष गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापित गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार र अधिकारीलाई मेची सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिने जनाएको छ । उनीहरुसहित गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियान्ता पुरस्कारबाट यसवर्ष भने नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई प्रदान गरिने निर्णय भएको जनाइएको छ । नगद तथा प्रमाणपत्रसहित वितरण गरिने पुरस्कार संस्थाको प्रमाणीकरण सभाका अवसरमा प्रदान गरिनेछ ।
ADVERTISEMENT