उर्लाबारी । लिम्बू समूदायको चासोङ तङ्नाम मोरङको उर्लाबारीमा ५ दिन बृहत सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी चासोक तङ्नामको अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म सो कार्यक्रम गर्ने जानकारी गराइएको हो । किरात याक्थुम चुम्लुङ उर्लाबारी नगर समितिको आयोजनामा हुने उक्त कार्यक्रममा भब्यताका साथ सम्पन्न गर्नका लागि ९ वटा उपसमिति गठन गरी तयारी थालिएको अध्यक्ष बानु सुब्बाले बताउनुभयोे । ३ लाख २३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र उर्लाबारी नगरपालिका, वडा कार्यालयहरु तथा देशविदेशमा रहनुभएका सहयोगीबाट सहयोग जुटाइने उहाँले जानकारी दिनुभयो ।
गायक डम्बर नेपाल, नोगेन लिम्बू, भीम लिम्बू, कुशल थलङलगायतको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक प्रकाश कन्दङ्वाले जानकारी दिनुभयो । लिम्बू समूदायको संस्कार र संस्कृति प्रस्तुतिसँगै मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने उहाँको भनाई छ ।
त्यस्तै, खेलकुद समितिका संयोजक राजन काम्बाङ्ले पालिका स्तरको भेट्रान फुटबल प्रतियोगिता गरिने जानकारी दिनुभयो । ८ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउने उहाँको भनाई छ ।
चासोकलाई भव्य र सभ्य बनाउन व्यापक तयारी गरिएको प्रचारप्रसार संयोजक विजय आङबुहाङले बताउनुभयो । चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ । ‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक स्थलमा आयोजना गरिन्छ । प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो,चासोक तङ्नाम । यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।
मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ । यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मङ्सिरे पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय