
उर्लाबारी । मोरङको उर्लाबारी–२ सिरुझारमा आज एक कार्यक्रमका बीच सह–लगानी खानेपानी योजनाको शिलान्यास गरिएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बिराटनगरको आयोजना र उर्लाबारी खानेपानी उपभोक्ता सरसफाई संस्थाको ब्यवस्थापनमा उर्लाबारी–२ सिरुझारमा निर्माण हुने ओभरहेड ट्यांकीसहितको सालबारी लक्ष्मीपुर सह–लगानी खानेपानी आयोजना उर्लाबारी नगर उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलले शिलान्यास गर्नुभएको हो ।
४ सय ५० घन लिटर क्षमताको ओभरहेड ट्यान्की सहितको योजना १८ करोड ६२ लाख ५६ हजार ५ सय ३९ रुपैयाँ लागतमा सम्पन्न गरिने लक्ष्य रहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि उर्लाबारीका सबै वडामा खानेपानी योजना सम्पन्न हुने उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव मेघराज श्रीपालीले बताउनुभयो । सिरुझारमा योजना सञ्चालन गर्न संस्था आफैंले ४ कठ्ठा खरिद गरिएको र उर्लाबारी–४ आईतवारेकी टोमा भण्डारी दाहालले अनुदान स्वरुप दिएको एक कठ्ठा जग्गा समेत गरी ५ कठ्ठा जमिनमा सो आयोजना सञ्चालन हुने उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पौडेलले जानकारी दिनुभएको छ ।