
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ स्थित चुरे क्षेत्रको लामा खोलामा नगरपालिकाकै नेतृत्वमा अवैध रूपमा बालुवा उत्खनन भएको खुलेको छ। अनुगमन टोलीले स्थलगत अनुगमन गर्दा मेयरका स्वकीय सचिव पीसी तामाङसँग सम्बद्ध कोपर्यात कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएर उत्खनन गरिएको पुष्टि भएको हो।
‘गिट्टी, बालुवा तथा ढुंगा उत्खनन र व्यवस्थापन कार्यविधि २०६९’ तथा वातावरण संरक्षण ऐनविपरीत खोलाबाट अवैध उत्खनन गरिएको उजुरीपछि चुरे वन क्षेत्रमा नगरप्रहरीकै सुरक्षामा बालुवा निकासी भएको पाइएको हो। अनुगमनका क्रममा कुनै वातावरणीय प्रभाव मूल्यांकन (IEE) वा स्वीकृति कागजात समेत प्रस्तुत नभएको पाइएपछि उत्खनन हालका लागि रोकिएको छ।
प्राप्त जानकारीअनुसार कोपर्यात कन्स्ट्रक्सनका सञ्चालक पीसी तामाङ मेयरका स्वकीय सचिव समेत हुन्। तामाङका नातेदार मेथो लामालाई समेत ठेक्का प्रक्रिया संग जोडिएको पाइएको छ। स्थानीय बासिन्दाले विरोध गरेपछि मात्रै अनियमितता सार्वजनिक भएको हो।
अनुगमन प्रतिवेदनअनुसार उत्खनन गरिएको क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील चुरे वन क्षेत्रमा पर्दछ, जहाँ कुनै पनि खानीजन्य गतिविधि गर्न पाइँदैन। तर, नगरपालिका कार्यालयले प्रक्रिया नपु¥याई स्वकीय व्यक्तिलाई ठेक्का दिई प्राकृतिक स्रोतमा हस्तक्षेप गरेको स्थानीयको आरोप छ।
वडा अध्यक्ष तथा जनप्रतिनिधिले समेत ठेक्का प्रक्रिया, सूचना प्रकाशन र निर्णयबारे स्पष्ट जानकारी नपाएको बताएका छन्। चुरे संरक्षण ऐन र वातावरणीय नीति विपरीत हुनेगरी गरिएको उत्खननबारे स्थानीय प्रशासन र प्रदेश सरकारलाई तत्काल छानबिन गर्न माग गरिएको छ।
यस विषयमा जिल्ला वन डिभिजन कार्यालयले समेत आवश्यक कागजात र स्वीकृति बिना खनन कार्य रोक्न निर्देशन दिइसकेको जनाइएको छ।