
लेटाङ । लेटाङ नगरपालिका वडा नं. ५ स्थित पुरानो आवासीय बोडिङ स्कुलको छेउमा रहेको एक घरमा शुक्रबार दिउँसो भएको आगलागीबाट लाखौंको क्षति भएको छ।
स्थानीय देवराज राईको एकलत काठले बनेको घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सुन, चाँदी, कागजपत्रलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ। यद्यपि क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार आगलागिको कारण विद्युत सर्ट हुन सक्ने अनुमान गरिएको छ। आगलागीको बेला घरमा कोही पनि नभएको जानकारी प्राप्त भएको छ। आगोको चपेटामा परेर घरमा राखिएको खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको थियो, जसले आगोको फैलावटलाई थप तीव्र बनाएको थियो।
स्थानीयवासी र नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।