उर्लाबारी । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सोमबार सम्पन्न १४ औँ नगरसभामा उपप्रमुख मिनाकुमारी खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो । बजेट अनुसार प्रशासनिक खर्चका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासमा ३५ करोड ७८ लाख ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख रुपैयाँ, पूर्वाधार विकासमा ४८ करोड ८८ लाख २ हजार रुपैयाँ, वातावरण, विपद् तथा जलवायूमा ६६ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिमा ९ करोड, वडा सञ्चालन तथा प्रशासनिक खर्चमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटका स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजश्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५ सय, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्यसंघ संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड, सार्वजनिक ऋणबाट ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा उर्लाबारी नगरपालिकाले १ अर्ब ११ करोड ५८ लाख ८५ हजार ५ सय ९६ रुपैयाँको बजेट प्रस्तुत गरेकोमा ९७ करोड ९८ लाख ८३ हजार १ सय ८९.७ रुपैयाँ आम्दानी भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ ।
नगरप्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिब प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता रहनुभएको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा कार्यपालिका बैठकबाट भएका निर्णयहरुको अनुमोदनका लागि प्रवक्ता तथा उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले पेश गर्नुभएको छ भने अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक चिन्तामणि पौडेल, न्याय समिति सदस्य अमृता दास, आर्थिक विकास समिति सदस्य कल्पना कामी रोक्का, सामाजिक विकास समितिका संयोजक कृष्णबहादुर वर्देवा, वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजनकुमार कँडेल, पूर्वाधार समितिका संयोजक कुलबहादुर कार्की, सुशासन तथा संस्थागत विकास समितिका संयोजक तिलककुमार पाण्डेले विषयगत समितिको प्रतिवेदन पेश गर्नुभएको छ । पूर्ण खोप सुनिश्चितता सम्बन्धि प्रतिवेदन उर्लाबारी वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले पेश गर्नुभएको थियो । सार्वजनिक सम्पत्तिका बारेमा वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईले प्रतिवेदन पेश गर्नुभएको थियो भने उर्लाबारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाले मालमोत तथा नापी कार्यालय स्थापनाका लागि भइरहेको पहलका बारेमा जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय