उर्लाबारी । संघीय सरकारले बहुविवाहलाई वैधानिकता दिने गरी कानुनको मस्यौदा तयार गरेको विषयलाई लिएर कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले कडा रुपमा विरोध जनाउनुभएको छ ।
विहीबार प्रदेशसभामा बोल्दै उहाँले बहुविवाहलाई बदर नगरेर उल्टै मान्यता प्रदान गर्ने नियतले कानूननै ल्याउन खोजेको भन्दै विरोध जनाउनुभएको हो । ‘घुमाएर ल्याएको पुरुषमैत्री यो व्यवस्थाले पुरुषलाई बहुविवाह गर्ने लाइसेन्स, वैधानिक प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘यो व्यवस्था ल्याउन खोज्नु पितृसत्तात्मक सोचको पराकाष्ठ हो । पितृसत्तात्मक संरचनालाई बलियो बनाउन खोजिएको हो ।’ उहाँले समानता, महिला अधिकार र कानुनी शासनको कुरा गरिरहेका वेला बहुविवाहले महिलालाई पीडा दिने, अराजकता र महिलामाथि हुने हिंसालाई अझ बढुवा दिने दाबी गर्नुभयो । ‘संविधानले समतामूलक समाज निर्माण गर्ने संकल्प लिएको छ, जसमा लैंगिक विभेदको अन्त्य र समान अधिकारको सुनिश्चितता गर्नु ध्येय रहेको छ । महिला अधिकार केवल अधिकारको मात्र नभई अस्तित्वको पनि मुद्दा हो’, उहाँले भन्नुभयो, ‘महिलाको दशकौँसम्म महिलाले सहनुपरेको बहुविवाहजन्य पीडा अहिले पनि निको भइसकेको छैन । अहिले सरकार बहुविवाह गर्न पाउने कानुन ल्याउने प्रयास गर्दैछ, जुन अन्यायपूर्ण छ ।’ बहुविवाहलाई वैधानिकता दिने कुनै पनि प्रस्ताव तत्काल खारेज गर्नुपर्ने उहाँको माग थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय