उर्लाबारी । फाल्गुनन्द जयन्तीको अवसरमा मोरङको उर्लाबारी–३ मा कार्तिक २९ गते शनिबार हुने ‘विराट टिचिङ प्रथम मंगलबारे क्रस कन्ट्री रन–२०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
क्रस कन्ट्री क्लब, उर्लाबारी–३ को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगितामा भारतसहित नेपालका ३ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने सचिब नुतन राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा भारतको मिरिक र सिलगुडीसहित नेपालको भोजपुर, उदयपुर, खोटाङ, चितवन, गुल्मीलगायतका जिल्लाबाट धावक–धाविकाहरू सहभागी हुनेछन् । प्रतियोगिताका लागि ३ सय ५० जना भन्दा बढी धावकहरुको सहभागीता रहने जनाइएको छ । मंगलबारे चोकबाट सुरु हुने दौड केरखाली चोक – सिरुझार स्कुल – सुनझोडा माध्यमिक विद्यालय – शान्ति आधारभूत विद्यालय – प्रस्तावित सालबारी रंगशाला हुँदै महेन्द्र राजमार्गमार्गबाट पुनः मंगलबारे चोकमै फर्किनेछ । कुल दूरी ११ किलोमिटरको रहनेछ ।
सहभागी खेलाडीका लागि टी–सर्ट, खाजा र जुसपानीको व्यवस्था गरिएको छ भने टाढाबाट आउने धावकका लागि खान र बस्ने व्यवस्था पनि गरिनेछ । खुला समूह (महिला÷पुरुष) तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार ५ सय र तृतीयले ५ हजार नगद पुरस्कार पाउनेछन् ।
यू–१५ समूहमा (महिला÷पुरुष) प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार पाउनेछन् । भेट्रान समूहका लागि पनि यू–१५ सरहकै पुरस्कार तोकिएको छ । साथै विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।























