सरोज बस्नेत
पत्रकारले आफ्नो पार्टीमा भोट हाल्यो—आस्था होला । ऊ पनि यही समाजको नागरिक हो, उसको पनि राजनीतिक, सामाजिक र व्यक्तिगत विचार हुन सक्छ । तर, पत्रकारले समाचार लेख्दा आफ्नो आस्थाभन्दा माथि उठेर तथ्य र सत्यलाई प्राथमिकता दिनुपर्छ ।
पत्रकारिताको मूल धर्म नै निष्पक्षता हो । र, अधिकांश पत्रकारले यही अभ्यास गरिरहेका हुन्छन् । तर, समस्या कहाँ छ भने, समाचार आफूअनुकूल आएन भने पत्रकार ‘झोले’ भइहाल्छ । जनप्रतिनिधिको पक्षमा समाचार आयो भने—‘पालिकाले पाल्यो’ । जनप्रतिनिधिको कमजोरी लेख्यो भने—‘विरोधीको झोला बोकेको’ । पीडितको आवाज उठायो भने—‘नाटक ग¥यो’ । भ्रष्टाचार वा अनियमिततामाथि प्रश्न ग¥यो भने–‘व्यक्तिगत रिसइबी साँधेको’ । अनि कार्यक्रमको पाँच सय रुपैयाँ भत्तामा पत्रकार पुगेको चर्चा गरेर उसको सम्पूर्ण पत्रकारितामाथि प्रश्न उठाइन्छ ।
अझ अचम्मको कुरा त के छ भने, यही आरोप लगाउनेहरू पनि आफूलाई फाइदा हुने ठाउँमा पाँच सय रुपैयाँकै लागि घण्टौँ लाइन लागेर हस्ताक्षर गर्न तयार हुन्छन् । आफूलाई फाइदा हुँदा पत्रकार राम्रो, आफ्नो पक्षमा समाचार आउँदा पत्रकार निष्पक्ष, तर आफूअनुकूल समाचार आएन भने त्यही पत्रकार एकाएक ‘झोले’ । यस्तो पनि हुन्छ र ? पत्रकारको काम कसैलाई खुसी पार्नु होइन । पत्रकारको काम त गलतलाई गलत र सहीलाई सही भन्नु हो । सत्ता र शक्तिमा रहेकालाई प्रश्न गर्नु हो । पीडितको आवाज सम्बन्धित निकायसम्म पु¥याउनु हो । जनताले थाहा पाउनुपर्ने विषयलाई तथ्यसहित बाहिर ल्याउनु हो । र, समाजमा लुकेका प्रश्नलाई सार्वजनिक बहसको विषय बनाउनु हो ।
पत्रकारले तपाईंको पक्षमा समाचार लेखेन भन्दैमा ऊ विरोधी हुँदैन । बरु एकपटक सोच्नुपर्ने हुन्छ–तपाईंको पक्षमा लेख्न मिल्ने तथ्य नै थिएन कि ? हामीले पत्रकारिताबाट खोजेको कुरा निष्पक्षता हो कि आफ्नो पक्षमा समाचार ? यो प्रश्न आज पत्रकारलाई मात्र होइन, पत्रकारितामाथि टिप्पणी गर्ने सबैले आफैँलाई सोध्न आवश्यक छ । पत्रकार पनि पूर्ण हुँदैन । पत्रकारबाट गल्ती हुन सक्छ । गलत समाचार आएमा प्रमाणसहित प्रश्न गर्न सकिन्छ । समाचार तथ्यहीन भए खण्डन गर्न सकिन्छ । पत्रकारले आफ्नो आचारसंहिता उल्लंघन गरे सम्बन्धित निकायमा उजुरी गर्न सकिन्छ । तर, कुनै समाचार मन परेन भन्दैमा पत्रकारलाई ‘झोले’, ‘दलाल’, ‘पालिकाले पालेको’ वा ‘विरोधीको मान्छे’ भनेर आरोप लगाउनु पत्रकारितामाथिको स्वस्थ आलोचना होइन । आलोचना तथ्यमा आधारित हुनुपर्छ, आक्रोशमा होइन । पत्रकारिता लोकतन्त्रको ऐना हो । ऐनामा आफ्नो अनुहार राम्रो देखिएन भन्दैमा ऐनालाई दोष दिन मिल्दैन । कहिलेकाहीँ समस्या ऐनामा होइन, हाम्रो अनुहारमा पनि हुन सक्छ । पत्रकारलाई गाली गर्न सजिलो छ । सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर ‘झोले पत्रकार’को ट्याग लगाउन झन् सजिलो छ । तर, त्यही पत्रकारले विपद्मा जोखिम मोलेर रिपोर्टिङ गर्दा, पीडितको आवाज उठाउँदा, रातदिन समाचार संकलन गर्दा र शक्तिशाली व्यक्तिसँग प्रश्न गर्दा उसको योगदान सम्झने फुर्सद हामीसँग कति हुन्छ ? पत्रकारिता कमजोर भयो भने समाजले सत्य थाहा पाउने एउटा महत्वपूर्ण आँखा गुमाउँछ । त्यसैले पत्रकारलाई ‘झोले’ भन्नुअघि एकपटक आफ्नो चस्मा पनि सफा गरौँ । पत्रकार निष्पक्ष भएन कि ? कि हाम्रो अपेक्षा नै ‘हाम्रो पक्षमा लेखिदेओस्’ भन्ने भयो ? पत्रकारलाई होइन, तथ्यलाई साथ दिऔँ । समाचारलाई होइन, सत्यलाई समर्थन गरौँ । अनि मात्र स्वस्थ पत्रकारिता र जिम्मेवार समाज निर्माण हुन सक्छ ।























