शेयर सदस्यको आर्थिक हित, सहज वित्तीय सेवा र आवश्यकताअनुसार सुविधा विस्तारलाई प्राथमिकतामा राख्दै झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उर्लाबारी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाको नियमित वार्षिक साधारणसभाअन्तर्गत उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सदस्यको बचतको सुरक्षा, प्रभावकारी वित्तीय सेवा, प्रविधिमैत्री कारोबार तथा आगामी दिनमा सदस्य हितमा केन्द्रित भएर अघि बढ्ने विषयमा छलफल भएको थियो । असोज ४ गतेदेखि ९ गतेसम्म विभिन्न सेवा केन्द्रमा इकाईगत साधारणसभा सञ्चालन गर्ने क्रममा उर्लाबारीमा सभा सम्पन्न गरिएको हो । उर्लाबारी सेवा केन्द्रमा मात्रै हाल १ हजार ५ सय २३ जना शेयर सदस्य आबद्ध छन् भने संस्थाभर ११ हजार २ सय ४७ जना शेयर सदस्य रहेको जनाइएको छ । सेवा केन्द्रका ज्येष्ठ शेयर सदस्य केदार खनालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष बरालले संस्थाको समग्र अवस्था, गतिविधि, उपलब्धि तथा आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
स्वर्णलक्ष्मी साकोसले सदस्यको बचतलाई सुरक्षित र व्यवस्थित रूपमा परिचालन गर्दै आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । सदस्यको आर्थिक आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने संस्थाको नीति रहेको व्यवस्थापनको भनाइ छ । संस्थाका व्यवस्थापक राजकुमार बरालका अनुसार सहकारीले सदस्यलाई केवल बचत तथा ऋण कारोबारमा सीमित नराखी उनीहरूको सामाजिक तथा आर्थिक सुरक्षासँग जोडिने गरी विभिन्न सेवा तथा सुविधालाई प्राथमिकता दिँदै आएको छ । संस्थाले सदस्यको सहजताका लागि डिजिटल सेवा तथा मोबाइल बैंकिङलगायतका प्रविधिमैत्री सुविधा सञ्चालनमा ल्याएको छ । वित्तीय कारोबारलाई थप छिटो, सहज र सुरक्षित बनाउँदै सदस्यलाई आधुनिक सेवासँग जोड्ने प्रयास भइरहेको संस्थाले जनाएको छ ।

दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसका विभिन्न स्थानमा चारवटा सेवा केन्द्र सञ्चालनमा छन् । उर्लाबारी सेवा केन्द्रअन्तर्गत उर्लाबारीसँगै सुनवर्षी र पथरीशनिश्चरे क्षेत्रसमेत समेटिएको छ । संस्थाले दमकमा आफ्नै आधुनिक भवन निर्माण गरी सेवा सञ्चालन गर्दै आएको छ । आधुनिक पूर्वाधार र प्रविधिको प्रयोगमार्फत सदस्यलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको संस्थाको भनाइ छ । संस्थाका अनुसार करिब १४ करोड रुपैयाँको जगेडा कोष रहेको छ । संस्थाको वित्तीय आधारलाई थप मजबुत बनाउँदै सदस्यको हितमा केन्द्रित भएर सेवा प्रवाह गर्ने लक्ष्य व्यवस्थापनले लिएको छ । स्वर्णलक्ष्मी साकोसले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । विभिन्न सामाजिक कार्य, राहत तथा सामाजिक सुरक्षा सुविधामार्फत सदस्य र समुदायसँग जोडिने प्रयास भइरहेको संस्थाको भनाइ छ । उर्लाबारीमा सम्पन्न इकाईगत साधारणसभामा संस्थाको प्रगति, सदस्य सेवा, प्रविधिको प्रयोग, सामाजिक उत्तरदायित्व र आगामी योजनाका विषयमा छलफल भएको थियो। सदस्यहरूले सेवा अझ सहज, प्रभावकारी र पारदर्शी बनाउन सुझाव दिएका थिए । साधारणसभालाई संस्थाले वर्षभरिका गतिविधिको समीक्षा मात्र नभई सदस्यका सुझाव, आवश्यकता र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । सदस्यको आर्थिक उन्नति र संस्थाको दिगो विकासलाई सँगसँगै अघि बढाउने लक्ष्यसहित स्वर्णलक्ष्मी साकोसले आगामी दिनमा पनि सदस्य हित, प्रविधिमैत्री सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने जनाएको छ । उर्लाबारी सेवा केन्द्रका प्रमुख सुशिल गर्तौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय