काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । जवाफमा देउवाले अहिले हतार गर्नुहुँदैन, यसबारे पार्टीमा छलफल गरेपछि थप कुरा गर्ने बताएको स्रोतको भनाइ छ ।

नेकपाको प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग पनि नयाँ सरकार गठनबारे छलफल गरिरहेको बताइन्छ । तर, काँग्रेस सहमतिमा आएर जसपा नेपाल नभए पनि सरकार गठन हुने परिस्थितिका कारण प्रचण्ड–माधव पक्षले जसपालाई त्यति महत्व दिएको छैन । अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपाको प्रचण्ड–माधव पक्ष, काँग्रेस, जसपाले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधसभामा अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीका सहयोगीहरुले भने प्रधानमन्त्रीको राजीनामा नआउने बरु संसदमा आवश्यक प्रक्रिया ‘फेस’ गर्ने बताउँदै आएका छन् ।

ओली पक्षको यो भनाइका आधारमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउने दिशामा कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नेछन् भन्ने अनुमान गर्न सकिन्छ ।
सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ । नेकपासँग सभामुखसहित १७४ सांसद छन् । तर यो दल दुई गुटमा विभाजित भएका कारण ओली पक्षलाई आफ्नो सरकार बचाउन र प्रचण्ड–माधव पक्षलाई ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अन्य दलको सहारा लिनुपर्ने बाध्यता देखिन्छ ।

प्रतिनिधिसभामा नेकपाको प्रचण्ड–माधव पक्षमा ९० सांसद रहेको दावी गरिएको छ भने नेकपा ओली समूहले ८४ सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
यता, काँग्रेसको ६३ र जसपा नेपालको ३४, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र १ सांसद छन् । नेकपाको कुनै पनि गुटले एक्लैले सरकार बनाउने सम्भावना छैन । नेकपाका दुई गुटमध्ये जुन पक्षसँग सहकार्य गर्न काँग्रेस तयार हुन्छ, त्यही गुट सत्तामा रहने अवस्था छ । नेकपाको प्रचण्ड–माधव समूहले दावी गरेझैं उनीहरुको पक्षमा ९० सांसद पुगेको अवस्थामा काँग्रेसको ६३ सांसद मिलाएर प्रतिनिधिसभामा १५३ सांसदको समर्थनसहित गठबन्धन सरकार बन्न सक्छ । जसपा नेपाल पनि उक्त सरकारमा सामेल हुने हो भने प्रतिनिधिसभामा त्यो सरकारको पक्षमा १८७ सांसद सँख्या पुग्छ ।

यदि काँग्रेसले नेकपा ओली समूहलाई साथ दियो भने ओली समूहको ८४ (दावी) र काँग्रेसको ६३ गरी १४७ सांसदको समर्थनसहित गठबन्धन सरकार बन्न सक्छ । सो सरकारमा जसपा नेपाल पनि सामेल भएमा सरकारको पक्षमा १८१ सांसद पुग्छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको अवस्थामा वा अविश्वासको प्रस्ताव आएको अवस्थामा तीन सांसदले मतदानमा भाग लिन पाउने छैनन् । नेपाली काँग्रेसका विजयकुमार गच्छदार, जनता समाजवादी पार्टी नेपालका हरि रौनियार र रेशम चौधरीले मत दिन पाउने छैनन् । गच्छदार र रौनियार निलम्बनमा परेका छन् भने चौधरी जेलमा छन् । यता नेकपाका सांसद सानु शिवाको निधन भएका कारण संसदीय अंकगणितमा नेकपातर्फ एक सांसद घटेको अवस्था छ ।

काँग्रेसको झुकाव नेकपा प्रचण्ड–समूह भन्दा पनि नेकपा ओली समूहतिर बढी छ । संसद विघटन हुँदा पनि काँग्रेस सभापति जानकारहरुका अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री ओलीप्रति नरम नै थिए । काँग्रेसले ओलीलाई साथ दिनुमा भारत पनि एक फ्याक्टर हुनसक्छ । काँग्रेसलाई भारतले जसलाई सहयोग गर्न भन्छ, त्यसलाई नै सहयोग गर्ने भूमिकामा काँग्रेस प्रस्तुत हुने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

तर नेपाली काँग्रेसमा पनि देउवा इतर नेताहरु ओलीसँग मिलेर जानु हुँदैन भन्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । रामचन्द्र पौडेल, गगन थापा लगायतले ओलीसँग सहकार्य गर्न नहुने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय चलखेल भएन भने काँग्रेस र नेकपा प्रचण्ड–माधव समूहको सरकार बन्न सक्छ । दुवै पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध छुट्टाछुट्टै संघर्षका कार्यक्रम गरेका थिए ।
ओली पक्ष पनि काँग्रेससँग मिलेर संसदमा बहुमत पु¥याउने खेलमा लागेकै छ । त्यसका लागि ओली समूहका नेताहरुले काँग्रेसका विभिन्न शीर्ष नेताहरुसँग संवाद गरिरहेका छन् । उता, जसपा नेपालका केही शीर्ष नेताहरुसँग पनि ओली पक्षले संवाद गरिरहेको बुझिएको छ ।

नेकपाको प्रचण्ड–माधव पक्षले काँग्रेसको साथ नपाएको अवस्थामा ओली पक्षबाट पनि केही सांसद तानेर जसपा नेपालसँग मिलेर सरकार बनाउने रणनीतिबारे पनि आन्तरिक तयारी गरिरहेको स्रोत बताउँछ । नेकपाको प्रचण्ड–माधव पक्षको सम्बन्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग पछिल्लो समय सुमधुर देखिन्छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको झुकाव काँग्रेस र नेकपाको ओली समूहप्रति रहेपनि मधेशले ओलीलाई नरुचाउने कारण उनीहरु खुलेर ओलीको पक्षमा लाग्न सकिरहेका छैनन् ।

मधेसमा ओलीको तुलनामा प्रचण्ड–माधवलाई सकारात्मक रुपमा लिने गरिन्छ । मुद्दाको हिसाबले पनि जसपा नेपाललाई प्रचण्ड–माधव पक्षको नजिक लैजान्छ । तर यस्तो गठबन्धनका लागि भारतको समर्थन रहन्छ वा रहँदैन भन्ने विषयले धेरै ठुलो प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

यदि जसपा नेपालले नेकपाको प्रचण्ड–माधव पक्षलाई साथ दिने हो भने बहुमतका लागि थप १४ सांसद आवश्यक पर्दछ । ती १४ सांसद प्रचण्ड–माधव पक्षले ओली समूहबाटै तान्नुपर्ने हुन्छ । सरकार गठनका क्रममा मन्त्री पद पाउने तथा विभिन्न नियुक्ति पाउने लोभमा गुट परिवर्तन हुन सक्ने र त्यसले संसदीय समीकरणमा फेरबदल हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय