-हेम गिरी
अमेरिकामा रहेको नेपाली भाषी भूटानी समाजमा पछिल्लो चोटि एनआरएन (NRN) को विषयमा व्यापक बहस, चर्चा अनि कुराकानी चल्न थालेको छ । NRN सुनिरहेको नाम हो । यो मेरो लागि नयाँ नाम भने होइन । हामीहरु NRN हुनु पर्छ या हुनु हुँदैन भन्ने कुरा दोस्रो कुरा भयो तर एनआरएनको अहिलेकै निर्देशिका, नीति, नियाम अनि विधानमा रहेर बोल्नु पर्दा चाहिं हामी एनआरएन हुनै सक्दैनौ भनेर जसले पनि मज्जाले भन्न सक्छ । त्यति भन्न कसैले पनि कुनै आइतबार कुर्नु पर्दैन । कसले या कुन व्यक्तिले कहाँ गएर के कुरा राख्नु पर्थ्यो या कसले कहाँ गएर कसको आवाज उठाउनु पर्थ्यो भन्ने कुराले मेरो लागि त्यति धेरै महत्वपुर्ण राख्दैन । धेरैले अहिले एनआरएनको कुरा भन्दा पनि नेपालमा रहेका भूटानी शरणार्थीको विषयमा बोल्नु पर्ने हो भनेर आफ्नो तर्कहरु राखेको देख्छु । म यस विषयमा केहि भन्न चाहन्न । जसले जति बोल्न जानेको छ उसले त्यति बोल्ने हो या जसले जति बोल चाहन्छ उसले त्यति नै बोल्छ । मलाई सुरुदेखि के चाहिँ लाग्थ्यो भने, हामी एनआरएन होइनौ भन्ने चाहिं मज्जाले लाग्थ्यो । फेरि भन्छु, मैले यहाँ हामी एनआरएन हुनु पर्छ या हुनु पर्दैन । भएको राम्रो हो या होइन भनेर भनिरहेको छैन । मलाई अझै पनि लाग्छ, हामी एनआरएन होइनौ अनि एनआरएनको अहिलेकै नियमवालीमा रहेर कुरा गर्नु पर्दा, हामी एनआरएन हुन कति पनि सक्दैनौ । मेरो यी तर्कहरुसंग तपाईहरू सहमत हुने अनि नहुनेले खासै अर्थ त राख्दैन । तर तपाईहरु मेरो विचारसँग सहमत या असहमत हुन मज्जाले सक्नु हुन्छ । अब मेरा केहि विचार राख्ने अनुमति चाहान्छु ।
गैर आवासीय नेपाली (NRN) भन्नाले नेपाली मूलका विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक सबैलाई जनाउँछ । हामी जुन समुदायमा छौ या बस्छौ या हामी जुन समुदायका हौ भन्छौ, त्यो समुदायमा बस्नेहरु नेपाली नागरिक थिएनौ अनि होइनौ । अलिक तितो सुनिन सक्छ, हामी नेपालको पुर्वी झापामा बस्ने भूटानी शरणार्थी थियौ । अहिले कुनै देशको नागरिक भयौ होला, तर हामी नेपाली नागरिक कहिल्यै पनि थिएनौ । हामीहरु भूटानका नेपाली भाषा बोल्ने नेपाली भाषीहरु हौ । नेपाली नागरिक हुनु भनेको तपाईको भावना अनि कल्पनामा डुबेर हुने कुरा होइन । साहित्यकारहरु त्यसरी डुब्छन्, भावविल हुन्छन् । हामी नेपाली हौ भन्दै खुब सिर्जना लेख्छन्, तर कल्पनाबाट बाहिर एक न एक दिन निस्किनै पर्छ अनि निस्के पछि थाहा हुन्छ, हामी को हौ भनेर । तपाई हामीले म नेपाली हुँ भनेर तपाई हामी नेपाली हुने कुरा हुँदै होइन । तपाईसँग नेपाली भएको प्रमाण हुनु पर्छ, जुन प्रमाण भूटानका नेपालीहरुसँग छैन । नेपाली भाषा बोल्नेहरु सबै नेपाली हुँदैनन् । जस्तै अँग्रेजी भाषा बोल्नेहरु सबै अँग्रेज हुँदैनन् अनि होइनन् । रितिरिवाज, संस्कार संस्कृत अनि चाड पर्व हामीहरुले हाम्रो पुस्ताबाटै लिएर आएको हौ । त्यो हाम्रो सम्पत्ति हो । त्यसको जोगर्न हामीले गर्नै पर्छ । भूटानले भूटानी भनेर स्वीकार गरेन अनि नेपालले नेपाली भन्न सकेन अब हाम्रो पहिचान के हो त भन्ने ताइ न तुईको बहस खुब चलेको देख्छु । मलाई त्यो सब समयको बर्बाद जस्तो लाग्छ किन कि कसैले स्वीकार गर्दैमा या नगर्दैमा हाम्रो पहिचान रहने अनि हट्ने हुँदै हुदैन । यस्तै बहस अनि अनेक चर्तिकलाको कारण हाम्रो पहिचानमा सधै प्रश्न चिन्ह खडा चाहिं हुन्छ । मलाई लाग्छ अनि हो पनि, हाम्रो राष्ट्रियता नेपाली होइन, हाम्रो नागरिकता नेपाल देशको छैन या होइन, मात्र हो त के भने, हामी नेपाली भाषा बोल्छौ अनि नेपाली भाषा लेख्छौ ।
मेरो पासपोर्टमा म जन्मेको देश भनेर ‘नेपाल’ लेखिएको छ, तर म जन्मिदाँ अनागरिक थिएँ । मसँग मेरो देश थिएन । जन्मिदाँ नै मेरो देश मसँग छैन भन्ने कुरा विश्वलाई थाहा थियो । शरणार्थीको रुपमा जन्मेकाहरुलाई अब नेपाली हो भनेर नेपाल सरकारले कसरी नागरिकता दिनु ? हाम्रो जन्मदर्ता पनि नेपालको वडा कार्यलयहरुमा हुँदैन थियो । त्यसैले मैले म नेपाली हँ भनेर अब कसरी भन्न सँकू ? नेपालीको परिभाषा सिमित नहोला, तर नेपाली नागरिकको परिभाषा सिमित नै हुन्छ । जीवनमा पाएको पहिलो नागरिकता, जहाँ लेखिएको थियो, मेरो राष्ट्रियता अमेरिकन । अब मैले म नेपाली हुँ भनेर कसरी भनिरहन सक्छु ?

हाम्रा पुर्खाहरु नेपाल देशका हुन् । नेपाल, मेरो पुर्खाहरुको देश हो भन्न मज्जाले सक्छु । म नेपालमै जन्मेता पनि नेपाल मेरो देश हो भन्न सक्दिन किन कि म त्यो देशको नागरिक होइन । हाम्रो पुर्खाहरु पछि भूटान गए या लगियो । त्यसमा कसैको विमत्ति छैन । पुर्खाहरु त नेपाल देशकै हुन्,तर हामी त होइनौ नि । सार्कको सदस्य राष्ट्रहरु बाहेक अन्य मुलुकमा बस्ने नेपालीहरु (NRN) को सदस्य हुन सक्छन् भनिएको छ । यसको मतलब हाम्रा पुर्खाहरु पनि NRN थिएनन् । किन कि भूटान सार्क सदस्य राष्ट्र नै हो ।

अब यति लेख्दा पनि, अमेरिकामा बस्ने नेपालीहरु एनआरएनको सदस्य किन हुँदैनन् त भन्ने प्रश्न आउला, किन कि हामी नेपाली होइनौ, नेपाली भाषी हौ । हामी अमेरिकामा नेपालीको हैसियतमा आएको होइनौ । अमेरिका आउँदा हाम्रो पहिचान ‘भूटानी शरणार्थी’ थियो । शरणार्थीको रूपमा अमेरिका आएर, यो देशको नागरिक भएकाहरु अब हामी विदेशमा बस्ने नेपाली नागरिक हौ भन्दै कसरी NRN हुन सक्छन् ? धेरैले हामी नेपाली हौ भन्दै गर्दा एउटा कुरा भनुम है त, कहीं कतै अमेरिकामा रहेका नेपालीहरुले यति सहयोग गरे, अमेरिकामा रहेका नेपालीहरुले कार्यक्रम आयोजना गरे भन्ने समाचार प्रकाशित भएपछि हामी नेपाली नै हौ भन्नेहरुले नै त्यी समाचारहरुमा भूटानी शब्द खोज्न थाल्छन । अनि भूटानी शब्द नभेटिए सुरू हुन्छ, सामाजिक सञ्जालमामा उत्पात । अस्ति कहिले हो, रामकृष्ण ढकालले के भन्दा उधुम्म नै मच्चेको थियो । धुर्मुस सन्तलीले अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे भनेर भिडियो बनाउदा पनि सामाजिक सञ्जालमामा तिनै नेपली हौ भन्नेहरुले भूटानी किन नभनेको हामीले पनि सहयोग गरेको थियौ भन्दै स्टाटस लेख्न सुरु गर्छन अब भनौ, तपाई हाम्रो भित्री आत्माले भन्छ चाहिँ के ? नेपाली हौ भन्छ कि भूटानी पहिला अनि नेपाली भाषा बोल्ने दोस्रो हौ भन्छ ? यहि परिस्थितिमा हामी नेपाली हौ भन्दै एनआरएनको सदस्यता लिने होडबाजी नगरे हुन्छ । हामी नेपाली होइनौ, यदि हौ भने हामी भूटानका नेपाली हौ ।

अर्को कुरा चाहिँ के हो भने, यदि एनआरएनले आफ्नो नियमवाली अनि विधान संशोधन गरेर नेपाल अनि सार्क सदस्य राष्ट्रहरु बाहेक विश्वका अन्य देशहरुमा बस्ने नेपाली भाषा बोल्ने, नेपाली पुर्खाहरुको सन्तान अनि नेपाली संस्कार-संस्कृत जोगर्न गर्दै नेपाल देश र नेपालमा रहेका नेपाली नागरिकहरुप्रति गरिएको योगदान हेरेर सार्क सदस्य राष्ट्रहरु बाहेक अन्य देशहरूमा बस्ने नेपाली भाषी भूटानीहरुलाई एनआरएनको सदस्य दिने निर्णय गर्यो भने, सबै भन्दा पहिला म त्यो सदस्यता स्विकार गर्ने छु ।

लेखक नेपाली भाषी भूटानी हुन् ।
हालः- अमेरिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय