उर्लाबारी । कृषिलाई व्यवसायिकीकरण र आधुनिकीकरण बनाइ सम्बृद्ध वडा बनाउने लक्ष्य बोकेर अघि बढिरहेको छ, मोरङको उर्लाबारी नगरपालिका वडा नं. ९ । यो वडा नगरकै अन्न भण्डारका रूपमा चिनिन्छ । कृषि र पशुपालन यस वडाको सबैभन्दा सम्भावना रहेको क्षेत्र हो । यो वडा नगरभित्रको कृषि पकेट क्षेत्रमा पर्दछ । यहाँका स्थानीयवासी ९० प्रतिशत कृषि पेशामा आबद्ध रहेका छन् ।
उर्लाबारी नगरपालिकाका ९ वडा मध्ये वडा नं. ९ दक्षिण पूर्वी भागमा अवस्थित छ । साविकको राजघाट गाविस वडा नंं ५, ६, ७ र ८ मिलाएर नगरको वडा नं. ९ बनेको हो । पूर्वमा मावा खोला, पश्चिम र उत्तरमा नगरकै वडा नं.८, दक्षिणमा रतुवामाई नगरपालिकाको बीचमा अवस्थित वडा नं. ९ को अधिकांश भूभाग ग्रामीण क्षेत्रमा रहेको छ । यही भूभाग राज्य पुनर्संरचनापछि उर्लाबारी नगरपालिकामा रूपान्तरण भएको हो ।
भूगोल नगरपालिकामा परिणत भएपनि नगरपालिका लागि आवश्यक पूर्वाधार भने वडा नं. ९ मा केही पनि छैनन् । ८.३५ हेक्टर क्षेत्रमा फैलिएको वडा नं. ९ मा १ हजार ६२४ घरधुरी रहेका छन् । कृषि योग्य उर्वर माटो रहेको यो वडाको जनसङ्ख्या ७ हजार ३ सय रहेको छ । जसमध्ये ४ जना तेस्रो लिङ्गी, ३ हजार ६ सय ६३ पुरूष र ३ हजार ६ सय ३३ महिला रहेका छन् । यस वडामा लिम्बू, ब्राह्मण, क्षेत्री, तामाङ, मगर जातिको बाहुल्यता रहेको छ । गाउँ नै गाउँ भएको ९ वडाका धेरै सडकहरू अझै पनि वर्खामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने गर्छन् ।

वडावासीको मुख्य समस्या सिचाई, सडक, स्वास्थ्य, शिक्षालगायतका रहेका छन् । ती समस्याहरुलाई समाधान गर्न वडाका जनप्रतिनिधिहरुले पहल पनि गर्दै आएका छन् । वडावासीको माग र आवश्यकतालाई मध्यनजर गरी वडा कार्यालयले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
७४.६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उर्लाबारी नगरपालिकामध्ये यो वडा १५.०८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस वडा जम्मा १ हजार ६ सय २४ घरधुरी रहेको छ भने ७ हजार ८ सय २४ जनसंख्या रहेको छ । तेस्रो लिङ्गी ४ जना यस वडामा रहेका छन् । ३ हजार २ सय ११ जना पुरुष र ३ हजार ६ सय १३ महिला रहेका छन् । वडाले भूमिकर, घरबहाल कर, सिफारिस शुल्क, सम्पत्ति मूल्यांकन, आम्दानी प्रमाणित, पञ्जीकरण शुल्क, सर्जवनी प्रमाणितलगायत सेवा प्रवाह गर्दै आएको छ । वार्षिक रुपमा यस वडाले जम्मा ६० लाख राजस्व संकलन गर्दै आएको छ ।
यस वडामा जम्मा २१ जाति रहेका छन् । जसमा लिम्बू,ब्राह्मण, क्षेत्री, तामाङ, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, आठपहरिया राई, सन्थाल, दमाई, कामी, सार्की, भुजेल, माझी, शेर्पा, थारु, मारवाडी, मधेसी, मुस्लिमलगायत जातजातिको मिश्रित बसोबास रहेको छ । वडा भित्रको मुख्य बस्तीहरु कुलझोडा, इन्द्रेझोडा, दुर्गापुरी, लामाटोल, आसामे टोल, छिन्ताङगे टोल, चक्रेटोल, राना टोल, नेगि टोल, भोटेपुल, खोपिडाँडा, सिम्बुटोल र आम्बारी पर्दछन् ।
यस वडाको सिलिङ बजेट १ करोड ३१ लाख रहेको छ । यस वडा भित्र हालसम्म ८ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको र यसै वर्ष थप ५ किलोमिटर प्रभात आधारभुत विद्यालय हुँदै सेम्बुटोल र खोपिडाँडा हुँदै दक्षिण कालोपत्रे सडक थालनी भएको छ । प्रायःजसो मुल र भित्र सडक अधिकांश ग्राभेल भैसकेको अवस्था छ । यस वडाभित्र रातेहोली, माथिल्लो दुर्गापुरी, तल्लो गुरुङटोल र सेर्माडाँडा दोभान सिचाई योजनाले करिब ३० प्रतिशत काम गरेको छ भने अन्य खेती सिचाई विद्युतिय मोटर र पम्पसिट प्रयोग गरेको पाइन्छ । वडाले लक्षित बर्गका लागि विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।
यस वडामा शैक्षिक क्षेत्र अन्तर्गत यस वडा ८५ प्रतिशत साक्षर रहेको छ । वडा भित्र ४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा सार्वजनिक मावि, प्रभात आधारभूत विद्यालय, राजघाट आधारभूत विद्यालय र महाराजथान आधारभूत विद्यालय रहेको छ ।
त्यस्तै, संस्थागत विद्यालय भने ३ वटा रहेको छ । जसमा शिशु शिक्षा सदन बोर्डिङ स्कुल, ओभल अंग्रेजी बोर्डिङ स्कुल र ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल रहेको छ । यस वडामा कामना कृषि फर्म, राजघाट कृषि उत्पादन केन्द्र, लालिगुँरास कृषि समूह, चक्रेटोल कृषि समूह, धनुष एग्रीकल्चरल फर्म एण्ड ट्रेनिङ सेन्टर प्रालि, शिद्देश्वर कृषि फर्म प्रालि, चेसुङ कृषि फर्म, इश्वर कृष्ण कृषि फाम हाउस, डिडिएस राई कृषि फर्म, महाराजथान कृषि तथा सिर्जनशील पशुपालन कृषक समूह, पि.के. पशुपन्छी कृषि फर्म, सेवारो कृषि फर्म, संन्दिप बहुउद्देश्य कृषि फर्म र आमा कृषि फर्म रहेको छ भने अक्षु द वाइट वाटर खानेपानी उद्योग, जनकल्याण अर्गानिक मल तथा जैविक विषादी उद्योग रहेका छन् ।

https://www.youtube.com/watch?v=pR1j-JeNkyI&t=9s

त्यस्तै, कामना बचत ऋण सहकारी संस्था लि., कुलझोडा फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था लि., जीवन ज्योती महिला साना किसान कृषि सहकारी संस्था लि., ग्रामीण बचत ऋण सहकारी संस्था लि. र वैभव लक्ष्मी तथा ऋण सहकारी संस्था लि. गरी ५ वटा सहकारी यस वडामा रहेका छन् । पर्यटन क्षेत्रमा भने रातेहोली जलाधार क्षेत्र यस वडामा पर्दछ । यस वडा भित्रको सम्भावना बोकेको पर्यटकीय स्थल रातेहोली जलाधार क्षेत्रलाई लिने गरिएको छ । स्वास्थ्यको आधारमा राम्रै रहेको मान्न सकिन्छ । यस वडामा आधारभूत स्वास्थ केन्द्र, गाँउघर क्लिनिक, खोप केन्द्र आम्बारी, खोपिडाँडा खोप केन्द्र, नेगिटोल खोप केन्द्र यस वडामा रहेका छन् ।
वडामा खानेपानीका लागि ९० प्रतिशत पाइप बिछ्याइ सकेको छ भने आसामेटोलीमा खानेपानीको ट्यांकी निर्माणाधीन रहेको अवस्था छ । अहिलेसम्म शुद्ध धाराको पानी ४ सय घर धुरीले उपभोग गर्दै आएका छन् भने अन्यले ट्युबवेलको प्रयोग गरिरहेको अवस्था छ । खेलकुद वा खेलमैदान यस वडामा प्रर्याप्त रहेको छ । आम्बारी खेल मैदान, ब्याडमिन्टन कोर्ट दुर्गापुरी, महाजथान खेलमैदानलगायत यसै वडामा अवस्थित रहेका छन् । वडाले युवा तथा खेलकुदको क्षेत्रमा पनि लगानी गर्दै आएको छ ।
यस वडा भित्र सामुदायिक, राजनैतिक, सामाजिक, प्रतिष्ठान, जातिगत वा धार्मिक भवनहरु पनि रहेका छन् । जसमा लालिमा समाजसेवा केन्द्र, जिपि भवन, बलराम तथा लक्ष्मीदेवि प्रतिष्ठान, आसामेटोल विकास संस्था सामुदायिक भवन, नवज्योति युवा क्लब र किराँत याक्थुम चुम्लुङ भवन रहेको छ ।
यहाँ जातीय धार्मिक मठ, मन्दिर, ग्राम थान, गुम्बा, चर्च र विभिन्न पर्व मनाइने स्थलहरु रहेका छन् । आम्बारीमा अवस्थित आम्बारी धिमाल ग्रामथान, लिम्बु जातिको चासोक तङनाम स्थल, देविस्थान सत्यहाङमाको ठुलो पुजा हुने स्थल, जलपादेवि मन्दिर, देविस्थान सेम्बुटोल, भिमशेनथान मन्दिर आदर्श टोल, महाराजथान स्थित धिमाल ग्रामथान, दुर्गा मन्दिर, गणेश मन्दिर, राधाकृष्ण मन्दिर, गाइघाट राधाकृष्ण मन्दिर, तामाङ जातिको माने स्थल दुर्गापुरी, माने गुम्बा टिमटिमे, एल्यहबा प्रार्थना चर्च, नेपाल तामाङ घेदुङ स्थल, सिंहकाली देवि मन्दिर, शिवालय मन्दिर, नव दुर्गा मन्दिर, गुरुङ जातिको गुम्बा, दुर्गापुरी स्थित गणेश मन्दिर, सात कनिया सिंह मन्दिर, तपस्वी बाबा मन्दिर रहेको छ । मठ मन्दिर संगै वा टोलमा भजन किर्तन मन्डली समेत गठन गरेको पाइन्छ ।
यस वडा भित्र १० वटा टोल विकास समितिहरु रहेका छन् । जसमा नवज्योति टोल विकास संस्था, नेगिटोल टोल विकास संस्था,आसामेटोल, महाराजथान टोल विकास संस्था, बोडरलाइन टोल विकास संस्था, खोपिडाँडा टोल विकास संस्था, छिन्ताङ्गेटोल टोल विकास संस्था, डाँडाटोल टोल विकास संस्था, चक्रेटोल टोल विकास संस्था र गुरुङ टोल विकास रहेका छन् । क्लबहरु न्यू सृजना क्लब महाराजथान, राजघाट युवा क्लब दुर्गापुरी, देउराली समाज परिवार आसामेटोल, रोशनी युवा क्लब, नवज्योति सामाजिक विकास युवा क्लब, उज्यालो समाज नेपाल राजघाट रहेको छ । विद्युत तथा बैकल्पिक उर्जामा ७० प्रतिशत दाउरा र ३० प्रतिशत ग्याँसको प्रयोग गरेको पाइन्छ भने घरमा विद्युत जडान ९० प्रतिशतले गरेको छ । विपत वा जोखिम भने वर्षा बर्षायाममा यस वडालाई मावा खोला, रतुवा खोला र रातेहोलीले दुख दिने गरेको पाइन्छ । विपत वा जोखिमबाट जोगिन बोडरलाइन, गाइघाट, चक्रेटोल, फाइवेलि टोल र महाराजथान गरी ३ किलोमिटर तारजाली बाँध गरिसकिएको छ भने अझै ६.१० किलोमिटर बाँकी रहेको छ । खोलाधारमा विरुवा रोप्ने कार्यक्रम चलाउँदै आएको पाइन्छ ।
कृषिमा मकै, धान, गहुँ, तोरीलगायत नगदे वाली रहेको छ भने वडाले सकेसम्म सिचाई र कृषि औजार कृषक सामु पु¥याउन अहोरात्र खटिरहेको छ । आम्बारी एरियालाई भने मकै पकेट क्षेत्रको रुपमा अघि बढाइएको छ । वडा कार्यालयले उन्नत जातको बिउ वितरण, विपन्न बर्गलाई सुगुरको पाठा तथा बाख्राको पाठा वितरण, कृषि तालिम, कृषि औजार वितरण लगायतका कार्यक्रम गरिरहेको छ ।
यस वडा शहरी क्षेत्र त्यति नभएर ग्रामीण भेग भएकोले फोहोरको समस्या कमै देखिन्छ । मुख्य चोक बजारमा भने फोहोर मैला व्यवस्थापनका लागि डस्विन प्रयोग गरिएको छ । समाधी स्थलहरुमा चक्रेटोल पूर्व मावा खोलाधार र सो स्थानमा व्यवस्थित तवरले निर्माणको तरखरमा, गाइघाट स्थित रतुवा खोलाधार र दुर्गापुरी स्थित तामाङ र गुरुङ जातिको रहेको छ भने कसैकसैले आफ्नै जग्गामा पारिवारिक समाधी स्थल बनाएका छन् । यस वडामा सामाजिक सुरक्षा भत्ता अन्तर्गत जेष्ठ ६ सय १९, दलित १९, विद्युवा महिला १ सय ३, बालवालिका १५ र पूर्ण अपाङ्ग ४८ गरि जम्मा ८ सय ८२ जनाले सुविधा लिँदै आएका छन् । वडाले महिला तथा दलित समूदायका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिला तथा दलित समूदायको क्षमता विकासमा वडाले कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
यस वडा भित्र रहेको चोक,पाटी, पौवा,फलैंचा र विश्रामालय पनि रहेका छन् । यस वडामा आम्बारीको चौकिला चोक, बरपिपल चौतारा बहुसांस्कृतिक फुलवारी मार्ग, दक्षिण चक्रेटोल र डाँडाटोल छुटिने दोबाटो, बोडर लाइन चौतारा, कटनु पुल छेउ लिम्बु चोक, खड्का चोक, भोटेपुल चौतरा, त्रिवेणी चोक, नवज्योति चोक, देउती चोक, बाँसबारी चोक, शिवालय चोक, अरुण स्मृति चोक, जोरबाटो फलैचा रहेको छ ।
त्यस्तै यस वडा भित्र राजघाट प्रहरी चौकी, नेपाल विद्युत प्राधिकरण राजघाट फ्युज सेवा, दुरसंचार टावर लक्ष्मी चोक लामाटोलीमा रहेको छ । यस वडामा पुल, कलभर्ट, होमपाइप विस्तार गरिएको छ । चक्रेटोलमा होम पाइप, छिन्ताङगे टोल पश्चिम बाटोमा कल्भर्ट, फाईवेली टोल जाने बाटोमा होम पाइप, जलपादेवी मन्दिर पश्चिम कलभर्ट, सेर्मा डाँडा उत्तरमा कल्भर्ट, सेम्बुटोलमा कलभर्ट, सिङगिमारीमा होमपाइप, खोपिडाँडा दक्षिणमा होमपाइप, प्रभात आधारभुत विद्यालय दक्षिण पश्चिममा कलभर्ट, झापा दमक १० र रतुवामाइ नगरपालिका तथा उर्लाबारी ९ वडा सिमानामा रतुवा पुल, कट्नु पुल, भोटेपुल, भोटेपुल चौतारा दक्षिण पश्चिम दुर्गापरी जानेबाटोमा कलभर्ट, आम्बारी र दुर्गापुरी कालोपत्रे सडक ८ र ९ वडा छुट्टिनेमा ४ वटा कल्भर्ट, भोटेपुल र लामाटोलमा कलभर्ट, बाँसबारी पुल ८ र ९ वडा छुट्टिने रातेहोली खोलामा पुल, ८ र ९ वडा छुट्टिने गुरुङटोल उत्तर इटहरा उर्लाबारी रोडमा कल्भर्ट र राजघाट प्रहरी चौकी उत्तर पश्चिम ८ र ९ वडा छुट्टिने कल्भर्ट रहेको छ ।
अहिले जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने गरी भौतिक पूर्वाधार तथा सामाजिक विकासतर्फ क्षमता विकासका काम वडाले अघि बढाइरहेको छ । वडाका दलित, जनजाति, महिलाहरुका लागि क्षमता अभिवृद्धिदेखि सिपमुलक तालिम सञ्चालन गरिरहेको छ । त्यस्तै वडाका समस्याहरुलाई आवश्यकताका आधारमा समाधान गर्दै अघि बढेको छ । वडाले सिमित स्रोत साधनले भ्याएसम्म विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, विद्युत, खेलकुदलगायतका काम अघि बढाइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय