उर्लाबारी, कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको वित्तीय सहायता तथा सहकार्यमा उर्लाबारी नगरपालिका, रोजगार सेवा केन्द्र उर्लाबारी मोरङको आयोजना र नगर आप्रवासी श्रमिक सञ्जाल, उर्लाबारी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको “उन्नत धान खेती प्रविधि तालिम” सफलतापूर्वक सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नी कृषकहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिम ६ दिनसम्म सञ्चालन भएको थियो ।तालिममा उर्लाबारी नगरपालिकाका ९ वटै वडाबाट सहभागी भएका करिब ९० जना रिटर्नी कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कृषकहरुलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर तथा व्यवसायिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
उक्त तालिम उर्लाबारीस्थित किसान चोकबाट करिब २ किलोमिटर उत्तरतर्फ रहेको रिभर फ्रन्ट रिसोर्टमा सञ्चालन गरिएको थियो । तालिम अवधिभर कृषकहरुलाई आधुनिक तथा वैज्ञानिक तरिकाबाट धान खेती गर्ने विभिन्न विधिबारे व्यवहारिक र प्राविधिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रम आप्रवासी श्रमिक सञ्जाल वडा नम्बर १ का अध्यक्ष लिला कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नम्बर ३ की वडा सदस्य कृष्ण कुमारी विश्वकर्मा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन् । त्यसैगरी नगर आप्रवासी श्रमिक सञ्जाल, उर्लाबारी नगरपालिकाका अध्यक्ष सन्तोष दाहाल तथा उर्लाबारी नगरपालिका कृषि शाखाका प्रमुख अम्बिका लुइटेललगायतको आतिथ्यता रहेको थियो ।
तालिममा सहभागी कृषकहरुलाई आधुनिक शैलीमा धानको ब्याड व्यवस्थापन गर्ने तरिका, कम लागतमा बढी उत्पादन लिन सकिने उपाय, थोरै जमिनको अधिकतम उपयोग गर्ने विधि, खनजोत नगरी धान खेती गर्ने आधुनिक पद्धति, समयअनुसार बाली व्यवस्थापन तथा उत्पादन वृद्धि गर्ने सीपबारे विस्तृत प्रशिक्षण दिइएको थियो । साथै व्यवहारिक अभ्यासमार्फत कृषकहरुलाई खेतमै पुगेर प्रत्यक्ष सिकाइसमेत गराइएको थियो ।
प्रशिक्षकहरुले परम्परागत खेती प्रणालीलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै कृषकहरुलाई आत्मनिर्भर तथा व्यावसायिक कृषि उत्पादनतर्फ अघि बढाउन यस्ता तालिम प्रभावकारी हुने बताएका थिए । सहभागी कृषकहरुले समेत तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा ज्ञानवर्द्धक रहेको प्रतिक्रिया दिएका छन् ।
स्थानीय स्तरमै आधुनिक कृषि ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले कृषिमा व्यवसायीकरण, उत्पादन वृद्धि तथा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम सञ्चालन नगर सञ्जालका सचिव भानु पौडेलले गरेका थिए । सो तालिमअन्तर्गत ७,८ र ९ नम्बर वडाका रिटर्नी कृषकलाई उर्लाबारी -९ मा गत जेठ १० र ११ गते पहिलो चरणमा , ४ ,५ र ६ नम्बर वडाका रिटर्नी कृषकलाई गत जेठ १२ र १३ गते उर्लाबारी १ मा रहेको रिभर फ्रन्ट रिसोर्टमा दोस्रो चरणमा तालिम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय