उर्लाबारी, उर्लाबारीमा तेस्रो आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा तथा उर्लाबारी नगरपालिकाको प्रवर्द्धनमा शुक्रबारदेखि उर्लाबारी पार्टी प्यालेसमा दुईदिने कार्यक्रम सुरु भएको हो।
महासंघ उर्लाबारीका अध्यक्ष प्रेम याक्खाका अनुसार फुड फेस्टिभलमा नेवार, तामाङ, धिमाल, राई, लिम्बू, याक्खा, गुरुङ लगायत विभिन्न आदिवासी जनजातिका परम्परागत तथा नौलो खानाका परिकारहरू प्रदर्शनीमा राखिएका छन्। विभिन्न समुदायका खाद्य परिकारका स्टलहरू कार्यक्रमको मुख्य आकर्षण बनेका छन्।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेलले गणतन्त्र स्थापना तथा लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले भाषा, कला, संस्कृति र पहिचानको संरक्षणमा टेवा पुग्ने बताए। उनले संस्कारयुक्त समाज निर्माणमा सबै समुदायको भूमिका आवश्यक रहेको भन्दै सुकुम्बासीहरूको पक्षमा नगरपालिका सकारात्मक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा महासंघकी उपाध्यक्ष सुकुरमुनी बेस्राले स्वागत मन्तव्य राख्दै आदिवासी जनजातिको मौलिक संस्कृति, परम्परा र खानपानको संरक्षण तथा जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको बताइन्।
महासंघका सल्लाहकार मातृका धिमालले तराईलाई बसोबासयोग्य भूमि बनाउन आदिवासी जनजातिहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूका विषय संसद्मा उठ्नुपर्ने धारणा राखे। उनले स्थानीय उत्पादन तथा परम्परागत पेय पदार्थको ब्रान्डिङ, आवश्यक कानुनी व्यवस्था र जनजातीय खानाको प्रवर्द्धनमा जोड दिए।
कार्यक्रममा विभिन्न जातजातिका नृत्य, तथा झाँकी प्रदर्शन गरिएको थियो। सहभागीहरूले बजार परिक्रमा गर्दै सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। साथै १७ वटा आदिवासी जनजाति समुदायले आफ्नो मौलिक नृत्य प्रस्तुत गरेका थिए भने परम्परागत खानाका परिकारसमेत प्रदर्शन गरेका थिए।
राजनीतिक दलहरूको तर्फबाट मन्तव्य राख्दै नेकपा उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले आदिवासी जनजातिको संस्कृति संरक्षणमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
कार्यक्रमको सञ्चालन महासंघकी सचिव सुशीला मगरले गरेकी थिइन्। कार्यक्रमको दोस्रो दिन शनिबार फुड फेस्टिभलसँगै सांगीतिक प्रस्तुति तथा फेसन शो कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष प्रेम याक्खाले बताएका छन् ।























