रमेश भण्डारी÷उर्लाबारी
कुनै पनि कार्यालयको सफलतामा नेतृत्वसँगै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । उर्लाबारी नगरपालिकाले यही योगदानको कदर गर्दै हलुका सवारी चालक बसन्त पौडेललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको छ ।
उर्लाबारी–४ निवासी पौडेल विगत १२ वर्षदेखि उर्लाबारी नगरपालिकामा हलुका सवारी चालकका रूपमा कार्यरत रहनुभएको छ । लामो सेवाअवधिभर उहाँले जिम्मेवारी, अनुशासन र इमानदारीका साथ सेवा प्रवाह गर्दै आएका कारण उत्कृष्ट कर्मचारीको सम्मान प्राप्त गर्नुभएको हो । नगरपालिकाको दैनिक प्रशासनिक कार्यदेखि विकास निर्माणको अनुगमन, विपद्का बेला हुने उद्धार तथा जनप्रतिनिधि र कर्मचारीको आधिकारिक कार्यसम्पादनमा सवारी सञ्चालनको जिम्मेवारी उहाँले निर्वाह गर्दै आउनुभएको छ । नगरपालिकाका विभिन्न कार्यक्रम र सेवामा आवश्यक पर्दा जुनसुकै समयमा पनि जिम्मेवारी बहन गर्ने उहाँको कार्यशैलीले सहकर्मी र जनप्रतिनिधिबीच विश्वास जितेको छ ।
नगरपालिकाका सवारी चालकको भूमिका गाडी चलाउनेमा सीमित हुँदैन । जनप्रतिनिधि र कर्मचारीलाई समयमै गन्तव्यमा पु¥याउने, सवारी साधनको नियमित मर्मत–सम्भारमा ध्यान दिने, यात्राको सुरक्षा सुनिश्चित गर्ने तथा आकस्मिक परिस्थितिमा समेत तत्परताका साथ सेवा दिनुपर्ने जिम्मेवारी उहाँहरूको काँधमा हुन्छ । पौडेलले यी सबै जिम्मेवारीलाई व्यवसायिक रूपमा निर्वाह गर्दै आएको नगरपालिकाका कर्मचारीहरू बताउँछन् । उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएपछि पौडेलले आफूले पाएको सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण कर्मचारीको मेहनतको कदरका रूपमा लिएको प्रतिक्रिया दिनुभयो । आगामी दिनमा पनि अझ जिम्मेवार, अनुशासित र सेवामुखी भएर काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय