काठमाडौं, दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो ।

घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन् । भारतको ओडिसामा हुने प्रतियोगिता २५ जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ ।

यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ ।

साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले २७ जुलाईमा श्रीलंका र ३१ जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ । नेपालले २ अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ ।

यसैगरी यु-२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ ।

नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय