काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ ।

काठमाडौंमा सञ्चालित थ्री नेसन्स कपको आज दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए । नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपबिजेता बंगलादेशले ३ हजार डलर पायो । नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट नेपाली टिममा दुई परिवर्तन गर्दै अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनील बललाई सोमबार पहिलो रोजाइमा खेलाएका थिए ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय