उर्लाबारी । उर्लाबारीमा पालिकास्तरीय भलिबल प्रतियोगिताको मंगलबार उद्घाटन भएको छ । संसारीमाई जल्पादेवी मन्दिर व्यवस्थापन समिति र योसेक क्लबको संयुक्त आयोजनामा प्रथम संसारीमाई जल्पादेवी भलिबल कप प्रतियोगिता २०७८ को उर्लाबारी नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उद्घाटन गरेकी हुन् । उर्लाबारी–३ स्थित चन्दने खेलमैदानमा आज भएको ३ खेलमा पथरीलाई कमलले,झापालाई दमकले बेलबारीलाई हतुवागढीले हराएका छन् ।

उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहने योसेक क्लबका अध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा संखुवासभाको सभापोखरी गाउँपालिका, भोजपुरको हतुवागढी गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाको दमक नगरपालिका, कमल गाउँपालिका र झापा गाउँपालिका, मोरङको उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका,बेलबारी नगरपालिका ,पथरी शनिश्चरे नगरपालिका साथै बाग्लुङको गल्कोट नगरपालिकाको टिमको सहभागिता रहने अध्यक्ष बुढाथोकीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार रुपैयाँ खर्च हुने खेल संयोजक समीर कुँइकेलले बताए । मुख्य प्रायोजक उर्लाबारी नगरपालिकाबाट ३ लाख ५० हजार सहयोग प्राप्त हुने र अन्य दाताहरुबाट सहयोग संकलन गरिएको कुँइकेलले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विजेतालाई १० तोला चाँदी जडित रनिङ ट्रफी प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताए ।

यसका साथै प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने छ भने भोजपुर, संखुवासभा,बाग्लुङबाट आउने टिमलाई प्रत्येक दिन ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । भोली बिहान ८ बजे उर्लाबारी र रंगेली साथै १० बजे सभापोखरी र गल्कोट बीच प्रतिश्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय