कतिपय मानिसहरू पदमा पुगेपछि चिनिन्छन्, तर केही व्यक्तित्व यस्ता हुन्छन् जसलाई पदले होइन, कामले चिनाउँछ । मिक्लाजुङ गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) त्यस्तै एउटा नाम हो— जसले जीवनको यात्रा संघर्षबाट सुरु गरेर समाजसेवा हुँदै जनविश्वाससम्म पु¥याउन सफल हुनुभएको छ ।
वि.सं. २०३७ साल चैत्र १० गते पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–२, धुपिङमा बुवा इन्द्रबहादुर कुँवर र आमा कौशिलादेवी कुँवरको परिवारमा उहाँ जन्मनुभयो । नौ सन्तानमध्ये काइँलो सन्तानका रूपमा हुर्किनुभएको उहाँको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो । सीमित स्रोत, मेहनतले भरिएको दैनिकी र परिवारको जिम्मेवारीबीच उहाँले जीवनका प्रारम्भिक पाठ सिक्नुभयो । जीवन सधैँ एउटै ठाउँमा अडिँदैन । अवसर, आवश्यकता र भविष्यको खोजीसँगै उहाँको परिवारले बसाइँसराइको यात्रा सुरु ग¥यो । २०४३ सालमा पाँचथरको तुम्बेवा–४ वलनेमा बसाइँ सरेको परिवार फेरि २०४६ सालमा साविक मधुमल्ला–६ (हाल मिक्लाजुङ–९) आइपुग्यो । अन्ततः २०५७ सालदेखि उहाँ मिक्लाजुङ–८ मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ ।
बसाइँसराइले ठेगाना फेरिएको थिएन, जीवन हेर्ने दृष्टिकोण पनि फेरिएको थियो । गाउँका दुःख, अभाव, कमजोर पूर्वाधार, सामान्य नागरिकका समस्या र विकासको आवश्यकता उहाँले नजिकबाट देख्नुभयो । यही अनुभवले उहाँभित्र समाजका लागि केही गर्नुपर्छ भन्ने भावना गहिरो बनायो ।

पारिवारिक जीवनमा पनि उहाँ जिम्मेवार अभिभावक र सहयात्री हुनुहुन्छ । उहाँका दुई छोरा र एक छोरी रहेका छन् । जीवनसाथी कल्पना कुँवर कृषि कर्ममा सक्रिय रहँदै परिवार र सामाजिक यात्रामा साथ दिँदै आउनुभएको छ । परिवारलाई सन्तुलित राख्दै समाजका लागि समय दिन सक्नु उहाँको जीवनको अर्को महत्वपूर्ण पक्ष हो ।
कुँवरको परिचय राजनीतिबाट सुरु भएको होइन, समाजसेवाबाट बनेको हो । मानिसहरू कठिन समयमा को कति साथमा उभिन्छ भन्ने कुरा सम्झन्छन् । उहाँले यही विश्वासलाई आफ्नो कामबाट प्रमाणित गर्नुभयो । मानव सेवा समाजमार्फत मिक्लाजुङसहित विभिन्न क्षेत्रमा एक सय साठीभन्दा बढी घर निर्माण अभियानमा उहाँको सक्रिय भूमिका रह्यो । घर भनेको केवल इँटा र सिमेन्टको संरचना होइन, त्यो एउटा परिवारको आशा, सुरक्षा र भविष्य हो भन्ने भावना उहाँले व्यवहारमा देखाउनुभयो । कसैको टाउकोमाथि छानो बन्नु, कसैको परिवारलाई सुरक्षित बसोबास दिलाउनु— उहाँका लागि सेवा मात्रै होइन, सामाजिक उत्तरदायित्व पनि थियो ।
प्राकृतिक विपद्का समयमा उहाँको सक्रियता अझ स्पष्ट देखियो । देशले भूकम्पको पीडा भोगिरहेका बेला उहाँ दर्शक बनेर बस्नुभएन । सिन्धुपाल्चोकजस्ता प्रभावित क्षेत्रमा चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन, राहत व्यवस्थापन र मानव सेवामा अग्रसर भएर उहाँले संकटको समयमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभयो । पीडामा साथ दिने हात नै वास्तविक नेतृत्व हो भन्ने मान्यतालाई उहाँले व्यवहारमा उतार्नुभयो । सामुदायिक वन संरक्षण र व्यवस्थापनमा उहाँको योगदान अझ उल्लेखनीय मानिन्छ । मावा–नुनसरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दा उहाँले वनलाई स्रोतका रूपमा होइन, समुदायको साझा सम्पत्तिका रूपमा हेर्नुभयो । संरक्षण, व्यवस्थापन र समुदायको सहभागितालाई प्राथमिकता दिँदै गरिएको प्रयासले उक्त वनलाई देशभरका करिब १८ हजार सामुदायिक वनमध्ये उत्कृष्ट घोषणा गरायो । यस उपलब्धिले गणेशमान सिंह राष्ट्रिय पुरस्कारसम्म पुग्ने सम्मान दिलायो । यो पुरस्कार एउटा संस्थाको मात्र उपलब्धि थिएन, नेतृत्व, प्रतिबद्धता र सामूहिक प्रयासको परिणाम थियो ।
समाजसेवाबाट सुरु भएको यात्रा अन्ततः जनप्रतिनिधित्वसम्म पुग्यो । वि.सं. २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर उहाँ मिक्लाजुङ गाउँपालिका–८ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । निर्वाचन जित्नु अन्तिम लक्ष्य थिएन, त्यो त जिम्मेवारीको सुरुवात थियो । पद सम्हालेपछि उहाँले आफूलाई शासक होइन, सेवकका रूपमा प्रस्तुत गर्नुभयो । जनताका समस्या सुन्ने, पहुँचभन्दा सेवा प्राथमिकता दिने, विकासलाई व्यवहारमा उतार्ने र नागरिकसँग प्रत्यक्ष संवाद गर्ने शैलीले उहाँलाई फरक पहिचान दिलाएको छ ।स्थानीय तहमा विकासका कामहरू केवल योजनाले होइन, कार्यान्वयनले मापन हुन्छन् भन्ने बुझाइ उहाँमा देखिन्छ । सडक, खानेपानी, सामाजिक विकास, पूर्वाधार निर्माण, नागरिक सेवा र सामुदायिक समन्वयका क्षेत्रमा उहाँले निरन्तर सक्रियता देखाउनुभएको छ । उहाँको अर्को विशेषता भनेको राजनीतिक सीमाभन्दा माथि उठेर काम गर्ने शैली हो । वडावासीका लागि सेवा गर्दा पार्टी होइन, आवश्यकता हेर्नुपर्छ भन्ने सोचले उहाँलाई सबै वर्गसँग नजिक बनाएको छ । यही कारण धेरैले उहाँलाई जनप्रतिनिधिभन्दा पनि आफ्नो मान्छे, सहज नेतृत्व र भरोसाको केन्द्रका रूपमा हेर्ने गरेका छन् ।
जीवनले उहाँलाई संघर्ष सिकायो, समाजले जिम्मेवारी दियो र जनताले विश्वास। आज पूर्णबहादुर कुँवर (प्रवेश) को यात्रा केवल एउटा व्यक्तिको सफलताको कथा होइन— यो मेहनत, सेवा, सामाजिक उत्तरदायित्व र जनविश्वासले निर्माण गरेको नेतृत्वको कथा हो । अन्ततः मानिसले पद कति वर्ष सम्हाल्यो भन्ने कुरा इतिहासमा कम लेखिन्छ, तर कसको कामले कति जीवन छोयो भन्ने कुरा लामो समयसम्म सम्झिइन्छ । पूर्णबहादुर कुँवरको यात्रा पनि त्यही सम्झनामा आधारित यात्रा हो— जहाँ सेवा नै परिचय बनेको छ र जनता नै शक्तिको स्रोत ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय