
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको विद्युतीय अभिलेख ई.एच.एम.आई.एस. सम्वन्धी तालिम सुरु भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो तालिमको उद्घाटन भएको हो । भोलिसम्म सञ्चालन हुने सो तालिममा नगरपालिका अन्तर्गतका ११ वटै स्वास्थ्य संस्थाबाट सर्वसाधारणका लागि पेपरलेस स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले साउन १ गते देखि नै दैनिक रुपमा स्वास्थ्य सेवा प्रदान गरिएका सबै स्वास्थ्य सेवालाई अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नका लागि आज र भोलि तालिम सञ्चालन हुनेछ ।
तालिमको आयोजना प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । सो तालिममा सिटिजन इन्फोटेक प्रा.लि. का प्रवन्ध निर्देशक उज्वल कोइराला, प्रशिक्षक सौगात संग्रोला र प्रशिक्षक आयुश तुलाधरले सहजीकरण गरिरहनुभएको छ । यसैगरी
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका तथ्यांक अधिकृत मुकुन्द दाहाल र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत जगतप्रसाद मगर र एकराज खत्रीद्वारा प्रशिक्षण भइरहेको छ ।
कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिम पश्चात् स्वास्थ्यकर्मीहरुले सूचना प्रणालीको विद्युतीय अभिलेख ई.एच.एम.आई.एस. मार्फत् कार्य गर्न सुझाउनुभयो । यस्तै नगरका लेखा शाखा प्रमुख एवं नि. प्रमुख प्रशासकीय अधिकृत पिताम्बर वस्तीले पनि आफ्ना सारगर्भिक भनाइहरु राख्नुभएको थियो ।