पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को उपाधि सलहेस फुटबल क्लब सिराहाले चुम्न सफल भएको छ। आइतबार सम्पन्न फाइनल खेलमा सलहेसले आयोजक पथरी–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।
निर्धारित खेलको १८औं मिनेटमा आयोजक पथरी–११ का धिरेन क्षेत्री ले पेनाल्टी सुटमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५७औं मिनेटमा सलहेसका जय गुरूङले पेनाल्टीबाट बराबरी गोल फर्काउँदै खेललाई १–१ मा ल्याए। त्यसपछि ६८औं मिनेटमा सलहेसकै समीर तामाङ ले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सलहेसका जय गुरूङ ‘म्यान अफ द म्याच’ घोषित भए। साथै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी युकेश तामाङ, उदयमान खेलाडी समीर क्षेत्री र सर्वाधिक गोलकर्ता विल्सन रिचार्ड घोषित गरिए।
विजेता सलहेस फुटबल क्लबले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पथरी–११ फुटबल क्लबले २ लाख ५० हजार रुपैयाँसहित ट्रफीमा सन्तोष मान्यो।
प्रतियोगिताको उद्घाटन कार्यक्रम मोरङ क्षेत्र नं. ३ का निवर्तमान सांसद डा. सुनिल शर्माले पानसमा बत्ती बालेर र बेलुन उडाएर गर्नुभएको थियो। उद्घाटन समारोहमा उनले पछिल्ला वर्षहरूमा नेपाली खेलकुदले गरेको उल्लेखनीय प्रगतिप्रति खुशी व्यक्त गर्दै पथरी शनिश्चरे नगरको खेलकुद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्घाटनअघि विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए। साथै, मध्यान्तर समयमा ‘भ्वाइस अफ किड्स’ का फाइनलिस्ट निश्चल लिम्बुले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
यससँगै दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ सलहेस फुटबल क्लब सिराहाको नाममा ऐतिहासिक रूपमा दर्ज भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय