आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट खड्गबहादुर फागोले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
मंगलबार दिउँसो उर्लाबारी वडा नम्बर ७ मा अवस्थित नेपाली कांग्रेस उर्लाबारी नगर समितिको कार्यालयबाट निकालिएको र्याली उर्लाबारी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेर उम्मेद्वारी दर्ता कार्यक्रममा परिणत भएको थियो।
उक्त अवसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
उम्मेद्वारी दर्तापछि फागोले लोकतन्त्रको सुदृढीकरण, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले मोरङ–१ का नागरिकको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्ने बताए।
नेपाली कांग्रेसले अनुभवी, जनप्रिय र संगठनमा पकड भएको नेताका रूपमा फागोलाई उम्मेद्वार बनाएको जनाएको छ। उनको उम्मेद्वारीसँगै मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको माहोल थप तातेको छ।























