उर्लाबारी । अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनले उर्लाबारीकी रमेश भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
बिहीबार उर्लाबारी–५ स्थित सेवायो होटलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा संगीता कार्की, सचिबमा विजय धिमाल र कोषाध्यक्षमा देव राईलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सदस्यहरुमा विवेक हिङमाङ, लक्ष्मीकुमार तामाङ र मनिता विश्वकर्मा चयन हुनुभएको छ । सहसचिबसहित थप सदस्य कार्यसमितिको बैठकबाट मनोनित गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । संघका कोशी प्रदेश अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोरङ क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविन ओली, संघका कोशी प्रदेश सचिब सरोज बस्नेत, कोषाध्यक्ष सम्झना राई, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, महासचिब पुजन दास, अग्रज पत्रकार केदार चौहान, नेपाल पत्रकार महासंघ मोरङका सदस्य तिलक नेपाली, रास्वपा मोरङ क्षेत्र नं. १ का सभापति सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।























