सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको उर्लाबारी परिवार हङकङ द्वारा स्थापित स्व. दिलिप राई स्मृति अक्षयकोष अन्तर्गत यस वर्ष पनि छात्रवृत्ति वितरण गरिएको छ। समाजसेवी पूर्ण वाइवाको पहलमा वि.सं. २०७४ सालमा स्थापना भएको उक्त अक्षयकोषबाट यस वर्ष उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालय का एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विपन्न तथा जेहेन्दार दुई विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ का दरले छात्रवृत्ति प्रदान गरिएको हो।
यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू वर्षा तामाङ र लक्ष्मण तामाङ हुन्। उनीहरूलाई कुल ५० हजार रुपैयाँ वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुवास सापकोटा को अध्यक्षता रहेको थियो।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक स्व. दिलिप राई को स्मृतिमा स्थापना गरिएको उक्त छात्रवृत्ति कोषले प्रत्येक वर्ष एसईईमा उत्कृष्ट जीपीए हासिल गर्ने सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई प्रोत्साहन गर्दै आएको छ।
सन् २०१० मा स्थापना भएको उर्लाबारी परिवार हङकङ सामाजिक सेवामा सक्रिय संस्था हो। संस्थाका अगुवा तथा उर्लाबारी–७ निवासी समाजसेवी पूर्ण वाइवा ले बालगायक अशोक दर्जीको घर निर्माण अभियानमा संयोजकको भूमिका निर्वाह गरेका थिए। साथै अशोकका साथी टिकाराम धिमाल (भुइँकटरे) र मोरङको लेटाङका विष्णु मगरको घर निर्माणमा समेत अग्रणी भूमिका खेलेका थिए। शिक्षा, सामाजिक सहयोग तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको संस्थाले छात्रवृत्तिमार्फत विपन्न तथा प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय