विपी भट्टराई

उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित मोरङ मोडल कलेजमा सम्पन्न विद्यालय स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुल दमकले जितेको छ ।
मोरङ मोडल कलेज उर्लाबारी–६ को आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल खेलमा उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालयलाई हराउँदै सिद्धार्थ बोर्डिङले उपाधि जितेको हो । बुधबार भएको फाइनल खेलमा लक्ष्मी माबिलाई सोझो सेटमा हराउँदै सिद्धार्थ बोर्डिङले नगद २५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । पहिलो सेटमा २५–१८ र दोस्रो सेटमा २७–२५ ले लक्ष्मी माबिलाई सोझो सेटमा सिद्धार्थ बोर्डिङले पराजित गरेको थियो ।


त्यस्तै, उपविजेता लक्ष्मी माबिले नगद १५ हजारसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ । त्यस्तै, तेस्रो भने आयोजक मोरङ मोडल कलेज भएको छ । मोरङ मोडलले मिक्लाजुङको मनोहर जनता माबिलाई हराउँदै तेस्रो बनेको हो । मोरङ मोडलले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । सरस्वति माबि रतुवामाई सेमिफाइनलमा प्रवेश गरेको भएपनि उजुरी पश्चात छानविनपछि मनोहर माबि मिक्लाजुङले सेमिफाइनल खेल खेल्ने अवसर पाएको थियो । तर, लक्ष्मी माबि उर्लाबारी–८ सँग सेमिफाइन खेलमा मनोहर पराजित बन्यो । उता मोरङ मोडल कलेज पनि सेमिफाइनल खेलमा सिद्धार्थ बोर्डिङ दमकसँग पराजित बनेको थियो । सेमिफाइनबाट पराजित बनेका मोरङ मोडल र मनोहर माबिबीच तेस्रोका लागि प्रतिपर्धा भएको थियो । त्यसमा मोरङ मोडलले बाजी मार्दै तेस्रो बन्न सफल बन्यो ।

विधागततर्फ बेष्ट सटर लक्ष्मी माबिका सरोज धिमाल, बेष्ट सर्भिस सिद्धार्थका तुलसी शिवाकोटी, र म्यानअफ दी म्याच सिदार्थकै सन्तोष गौतम हुनुभयो । विधागत उत्कृष्ट खेलाडी सबैलाई ट्रफी र मेडल प्रदान गरिएको थियो । विजेता, उपविजेता, तेस्रो र विधागत उत्कृष्ट खेलाडीहरुलाई मोरङ मोडल कलेजका निर्देशक यादप भण्डारी, प्याव्सन उर्लाबारी नगरअध्यक्ष दिनेश पोख्रेल र भुवन श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । गत सोमबारबाट कलेज खेलमैदानमा सुरु भएको सो प्रतियोगितामा उर्लाबारी, दमक, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका १६ विद्यालयको सहभागिता रहेको थियो ।


त्यस्तै, मोरङ मोेडल कलेजकै आयोजनामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिएको थियो । आइतबार कलेज परिसरमा स्थानीय गोदावरी हस्पिटल उर्लाबारीको समन्वय र प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन गरिएको शिबिरमा दुई सय ८४ जनाले सेवा लिएका छन् ।
शिविरमा गोदावरी हस्पिटलका संचालकसमेत रहेका वरिष्ठ चिकित्सक सुर्यनारायण साहको नेतृत्वमा नौ जना चिकित्सक टोलीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा बाल रोग, मुटु, मिर्गौला, हाडजोर्नी तथा नशा, छाला तथा यौन, नाक, कान, घाँटी, स्त्री रोग, दाँत, मधुमेह र पाठेघरलगायत समस्याको विशेषज्ञ सेवा दिइएको थियो ।

तस्बीरहरु : अनिल चौहान

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय