उर्लाबारी। उर्लाबारीमा यही असार ३ देखी ५ गतेसम्म “प्रथम आदिवासी जनजाति फुड फेस्टिबल तथा सांस्कृतिक प्रबद्र्धन” कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजनामा उर्लाबारी – ७ स्थित पार्टी प्यालेसमा हुने फेस्टिबलमा स्थानीय १४ जातजातिको प्राकृतिक जडीबुटीसहितको खानाका परिकार रहनेछ ।

परिषद्ले आज पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबल तथा सांस्कृतिक प्रबद्र्धन कार्यक्रमका विषयमा जानकारी दिएको हो । परिषद्का नगर अध्यक्ष मणीलाल श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा खानाका परिकार, स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम, नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान् लगायत हुनेछ ।

उद्घाटनका दिन असार ३ गते राधिका मावि हाटखोलाबाट १४ जातजातिको झाकीसहितको र्यालीले नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमबाट उर्लाबारीमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र आहाराको संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने, नगरपालिका र परिषद् परिवारबीचमा सम्बन्धहरु सुमधुर कायम गर्ने, स्थानीय गाउँ तथा टोलसम्म आदिवासी जनजातिहरुको संगठन निर्माणका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ । कार्यक्रमका लागि नगरपालिकाले ३ लाख ९९ हजार ७५० रुपैया बजेट सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय