उर्लाबारी।अपाङ्गता भएका व्यक्तिहरूलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयनमा चुनौति आएका कारण पीडितहरूले इलाका प्रहरीका उर्लाबारीको ध्यानाकर्षण गराएका छन्। उनीहरुले कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गर्दै पत्र दिएका छन्।अपाङ्गता भएकाहरूको संस्था ओपिडी रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाकोले संयुक्त रुपमा उक्त पत्र प्रहरीमा बुझाएका हुन्।
यस बारेमा सरकारले कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न कडा कदम चाल्नुपर्ने उनीहरुको माग छ। यातायात कम्पनीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई छुट नदिएमा कारबाही गर्ने व्यवस्था गरिनुपर्ने उनीहरुको तर्क छ। अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारबारे जनचेतना फैलाउन मिडिया, एनजीओ र सरकारी निकायहरूले अभियान चलाउनुपर्ने अवस्था देखिएको छ । यातायात कम्पनीहरूले पनि आफ्ना कर्मचारीहरूलाई प्रशिक्षण दिन जरुरी छ। त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्था र मानव अधिकार संगठनहरूले छुटको कार्यान्वयनका लागि दबाब दिन र निगरानी गर्न आवश्यक देखिएको उर्लाबारी ओपिडीका रामकुमार राईले बताएका छन्।
यसैगरी यात्रुहरूलाई छुट नदिएको अवस्थामा तत्काल उजुरी गर्न सकिने प्रणाली विकास गर्न र अनुगमन निकायहरूले समय-समयमा अनुगमन गरी छुटको सही कार्यान्वयन भइरहेको सुनिश्चित गराउन जरुरी छ। यातायात सेवामा सुधार र छुटको कार्यान्वयनका लागि सर्वसाधारणको सहभागिता महत्वपूर्ण हुन्छ। यसका लागि खुला छलफल र समन्वय पनि आवश्यक छ। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा ५०% छुट दिन कानुनी व्यवस्था गरेको छ। उक्त छुट पाउनका लागि अपाङ्गता भएको प्रमाणपत्र आवश्यक हुन्छ। यता यातायात कम्पनीहरूले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई छुट दिन प्रतिबद्धता जनाएका छन्। त्यसकारण यातायातमा छुट कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरी कार्यालयहरूमा अनुरोध गर्न लागिएको जागरण अपाङ्ग संस्था नेपालका केन्द्रीय भिमबहादुर बरालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय