
उर्लाबारी । जेष्ठ नागरिक एकता समन्वय केन्द्र नेपाल, उर्लाबारी वडा नं. ६ ले आफ्नो आठौं वार्षिक उत्सव तथा चुनावी सभा बिहीवार भब्य रुपमा सम्पन्न गरेको छ।
उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको सभा हलमा भएको सभालाई सम्बोधन गर्दै कार्यक्रका प्रमुख अतिथि तथा वडा नं ६ का वडा अध्यक्ष चिन्तामणि पौडेलले जेष्ठ नागरिकहरूको अनुपस्थितिमा कुनै पनि सभा वा समारोह अधुरो र अपूरो हुने भन्दै सबैले उनीहरूलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अध्यक्ष पौडेलले कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा वडाबाट प्राप्त रकम उल्लेख नभएको प्रति गुनासो गर्नुहुदै आर्थिक प्रतिवेदन पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष धर्म भण्डारी अस्वस्थ भएका कारण उपाध्यक्ष दिलकुमारी शाक्यको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो। सभामा कोषाध्यक्ष भीमबहादुर राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव भवानीप्रसाद गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा आजीवन सदस्य रहेका जेष्ठ नागरिकहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिनुका साथै विपन्न जेष्ठ नागरिकहरूलाई निःशुल्क झुल वितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा निर्वाचन समिति संयोजक गजेन्द्र दंगाल, सदस्य अम्बिका गौतम र पुन्या नेपालले सभालाई सम्बोधन गर्दै भवानी गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। नव निर्वाचित पदाधिकारीहरुमा ईन्द्रकला भण्डारी उपाध्यक्ष , धर्मानन्द कार्की सचीव ,ईन्द्रमणी नेपाल सहसचिव ,भिम बहादुर राई कोषाध्यक्ष त्यसैगरी सदस्यहरुमा देवी प्रसाद बराल,हरिप्रसाद तिम्सिना ,मान बहादुर श्रेष्ठ ,तिल बहादुर भण्डारी दण्ड परियार तथा मनमाया तामाङ रहेको निर्वाचन समितिले जनाएको छ ।