
उर्लाबारी । युवाहरुका लागि एक महिने हलुका सवारी चालक तालिम सम्पन्न गरिएको छ । उर्लाबारी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो । न्यू फोरेन ड्राईभिङ्ग सेन्टर उर्लाबारी शाखाको सहजीकरणमा भएको उक्त तालिममा २२ जनाको सहभागिता रहेको थियो । जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रमका लागि वडा कार्यालयले युवाहरुलाई ड्राईभिङ्ग तालिम दिएको वडाध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिनुभयो । व्यवसायिक सीपमुलक तालिम अन्तरर्गत एक महिने हलुका सवारी चालक तालिमको सहजीकरण ड्राईभिङ्ग सेन्टरका सञ्चालक विनोद बजगाई र निलम श्रेष्ठले गर्नुभएको थियो । युवाहरुलाई सीपमुलक तालिमले रोजगारमा लाग्न र आत्मानिर्भर वन्न अवसर प्रदान गर्ने वडाध्यक्ष कार्कीको भनाई छ । सो तालिममा सहभागीमध्ये १२ जनाले ड्राईभिङ्ग लाइसेन्सको परीक्षा दिएको र ७ जना उर्तिण भइसकेको प्रशिक्षक विनोद बजगाईले जानकारी दिनुभयो । तालिमसँगै सहभागीहरुलाई ड्राईभिङ्ग लाइसेन्स परीक्षामा सहभागी गराएर रोजगारीमा पनि प्रेरित गर्ने काम आफुहरुले गरेको उहाँको भनाई छ ।