
उर्लाबारी, नेकपा एमाले उर्लाबारी नगर कमिटीले ३२ औं मदन आश्रित दिवस मनाएको छ । शनिबार विहान उर्लाबारी -५ स्थित पार्टी सम्पर्क कार्यालय परिसरमा दिवंगत नेताद्वयको तस्वीरमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै मदन–आश्रितको योगदानको स्मरण गरेका हुन् ।
कार्यक्रममा मन्तव्य राख्दै एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य भुपालसिंह जिमीले जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आवश्यक रहेकोमा जोड दिए। मदनको मार्गमा हिँडे मात्रै मुलुकको हित हुने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य भिष्मा रेग्मी भट्टराई, जिल्ला कमिटी मोरङकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेल, जिल्ला सदस्य अग्नि भट्टराई, डिल्ली खतिवडा, गंगा गजमेर, उर्मिला थापालगायत नेता कार्यकर्ताको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।
कार्यक्रममा एमाले उर्लाबारीका अध्यक्ष निरोज तिम्सिनाको सभापतित्व रहेको थियो । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको वि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
उक्त दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।