उर्लाबारी, उर्लाबारी नगरपालिका–१ स्थित हिलेडाँगिमा प्रतिबन्धित औषधीसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ३१ वर्षीय सनम माझी रहेको इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीले जनाएको छ।
जेठ १९ गते दिउँसो करिब ४:३० बजे विशेष सूचनाका आधारमा प्र.स.नि. राजकुमार दर्नालको कमाण्डमा खटिएको प्रहरी टोलीले माझीको घरमा छापा मारी तलासी लिएको थियो। तलासीको क्रममा माझीको घरमा लुकाई राखिएको अवस्थामा विभिन्न प्रतिबन्धित औषधीहरू फेला परेको जनाइएको छ। वसमा Vomine-25 लेखिएको १० पत्ता (जम्मा १०० गोटी), Antikof लेखिएको ७० पत्ता (जम्मा ७०० गोटी), Tramadol लेखिएको क्याप्सुल ७० पत्ता (जम्मा ७०० क्याप्सुल), नगद रकम रु २,१००।–, र दुई थान मोबाइल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माझीले लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि टोली खटिएको थियो। हाल पक्राउ परेका माझीलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि इप्रका उर्लाबारीमा राखिएको प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए।
यस घटनालाई प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गतको एउटा महत्वपूर्ण सफलता मानेको छ। प्रहरी स्रोतका अनुसार समाजमा लागूऔषधको बढ्दो प्रभावलाई न्यूनिकरण गर्न नागरिकसँग सहकार्य गर्दै अझ कडाइका साथ अभियान अगाडि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय