
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १ महिने स्तरोन्नति (एडभान्स) सिलाई कटाइ तालिमको समापन गरिएको छ ।
आज वडा नं. ६ को सभाहलमा वडाध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा १ महिने स्तरोन्नति (एडभान्स) सिलाई कटाइ तालिमको समापन गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको भएको थियो । उप–प्रमुख काफ्ले मन्तव्यका क्रममा भन्नुभयो–‘वडा नं. ५ र ६ लक्षित यस कार्यक्रमबाट दक्ष भएर आउनुभएको छ, भावी दिनमा अझ राम्रो कार्य गर्दै वडा र नगरपालिकाको लगानी खेर जान दिनहुन्न भन्ने मलाई आशा छ ।’
लघु उद्यम विकास सहजकर्ता भगवती कटुवालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, कार्यपालिका सदस्य तुलशा कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिमको सहजीकरण रेखा बोहोराले गर्नुभएको थियो भने वडा सदस्यद्वय विनयराज तिम्सिना, विष्णुकुमार लिम्बु लगायत वडावासीहरुको उपस्थिति रहेको थियो ।